१६ चैत्र २०८०, शुक्रबार
Follow Us

एमाले – माओवादी केन्द्रबीच झडप, उम्मेदवारका छोराको मृत्यु

नेपालब्रिटेन डट कम्
२७ बैशाख २०७४, बुधबार ०७:४६

काठमाडौं । दोलखामा नेकपा एमाले र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप हुँदा एकजनाको मृत्यु भएको छ । गौरीशंकर नगरपालिका एक जुबु दहवारीमा गएराति भएको चुनावी प्रचारका क्रममा दुई पार्टीका कार्यकर्ताबीच झडप हुँदा एकजना एमाले कार्यकर्ताको मृत्यु भएको हो ।

दोलखा प्रहरीका अनुसार मृत्यु हुनेमा गौरीशंकर गाउँपालिका एक जुँगुका पैतिस वर्षीय एमालेका कार्यकर्ता कुलबहादुर तामाङ रहेका छन् । मृतक तमाङ केही दिन अगाडि मात्र माओवादी केन्द्र परित्याग गरी एमालेमा प्रवेश गरेका थिए । उनका बाबु स्थानीय तह चुनावमा खुल्लाबाट वडा सदस्यको पदमा उम्मेद्वार रहेको बताइएको छ ।

झडपमा गौरीशंकर गाउँपालिका दुईका पचपन्न वर्षीय दिलबहादुर बुढाथोकी गम्भीर घाइते भएका छन् । घाइते बुढाथोकीको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि काठमाडौं ल्याइएको छ । घाइते बुढाथोकी जुगु निलकण्ठेश्वर माविका शिक्षक हुन ।

झडपमा माओवादी केन्द्रका वडा अध्यक्षका उम्मेदवार भरत खड्का लगायतका ४ जना घाइते भएका छन् । झडपमा एमाले कार्यकर्ताले प्रयोग गरेका केही सवारी साधन समेत माओवादी कार्यकर्ताले जलाइदिएका छन् ।

एमालेले चुनाब प्रचारका क्रममा कार्यकर्ता बसिरहेको ठाँउमा माओवादीले आक्रमण गरेको आरोप लगाएको छ । प्रहरीले भने घटनाको अनुसन्धान भैरहेको जनाएको छ ।
झडपपछि जिल्ला प्रहरी कार्यालय दोलखावाट प्रहरी नायब उपरीक्षक रबीन कार्की नेतृत्वको टोली त्यसतर्फ गएको छ ।