८ बैशाख २०८१, शनिबार
Follow Us

घर–घरमा दलीय झण्डा

नेपालब्रिटेन डट कम्
२७ बैशाख २०७४, बुधबार ०८:१७

काठमाडौं । शहरदेखि गाउँसम्म चुनावी रौनकले छपक्कै ढाकेको छ । घर–घरमा दलीय झण्डा राखिएका छन् । बिजुलीका खम्बादेखि सार्वजनिक स्थानका चौतारी, रुख तथा घरका भित्तामा समेत चुनावी प्रर्चा टाँसिएका छन् ।

गाउँ–घरका चिया पसलदेखि चोक चौतारीमा स्थानीय तहको चुनावकै चर्चा चलिरहेको छ । कुन दलको, को नेतालाई भोट हाल्ने देखि कसले गाउँको बिकास गर्छ भन्नेसम्मका बहस पनि भैइरहेका छन् ।

त्यतिमात्र होइन यतिबेला चुनावी चटारोमा रहेका नेता तथा कार्यकर्ता गीत संगीतसँगै, घोषणा–पत्र र उम्मेदवारका पर्चा सहित नमस्कार गर्दै मतदाता माझ पुग्दा आम नागरिकलाई अभिवादन फर्काउन भ्याइनभ्याइ छ ।

दुइ दशक पछि स्थानीय तहमा आफ्नो प्रतिनिधि चुन्न पाउने भएपछि मतदाता पनि उत्साही छन् । स्थानीय तहबाट निर्वाचित जनप्रतिनिधिले गाउँ–टोलको बिकास गर्ने अपेक्षा पनि मतदाताले गरेका छन् ।
स्थानिय नेता तथा कार्यकर्ता घरमै हात जोड्दै आएपछि बुढापाका मतदाता पनि दंग छन् । तर, विगतमा चुनाव हुदाँ मत माग्न आउने नेताहरु चुनावपछि भने गाउँको विकास गर्नमा ध्यान नदिएको उनीहरुको गुनासो पनि छ ।

यतिबेला राजधानीका सवारी साधन पनि चुनावी प्रचार–प्रसारका माध्यम बनेका छन् । मोटरसाइकल देखि निजी सवारी साधन मात्र होइन सार्वजनिक भाडाका सवारी साधन समेत चुनावी प्रचार–प्रसारमा प्रयोग भैइरहेका छन् । जति उत्साहका साथ उम्मेदवार भोट माग्दै घर–घरमा पुगेका छन् त्यति नै मतदाता पनि स्थानीय सरकार निर्माणका लागि जनप्रतिनिधि छान्न आतुर देखिन्छन् ।