१३ बैशाख २०८१, बिहीबार
Follow Us

शीर्ष नेताहरु आज अति व्यस्त

नेपालब्रिटेन डट कम्
२८ बैशाख २०७४, बिहीबार ०७:२७

काठमाडौं । आज मध्यरातपछि मौन अवधि सुरु हुन्छ । त्यसभन्दा अगाडि चुनाव प्रचार प्रसारका लागि शीर्ष नेताहरुको दौडधूप बढेको छ । एक दिन शीर्ष नेताहरु विभिन्न क्षेत्रमा पुगेर चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । आज अन्तिम दिन भएकाले नेताहरुको दौडधुप बढेको हो । सबैभन्दा व्यस्तता नेपाली कांगे्रसका सभापति शेरबहादुर देउवाको रहेको छ ।
देउवाले बिहीबार मध्याह्न ११ बजे चितवनको भरतपुर महानगरपालिकामा हुने चुनावी सभालाई सम्बोधन गर्नेछन् । कांग्रेस र माओवादी केन्द्रको तालमेल रहेको उक्त सभामा प्रधानमन्त्री तथा माओवादी अध्यक्ष प्रचण्ड पनि सहभागी हुनेछन् । बिहीबारै देउवाले लमजुङको सुन्दरबजार नगरपालिका तथा काठमाडौंको असन र बूढानीलकण्ठमा हुने सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । तीन जिल्लाको चुनाव प्रचारमा भाग लिन देउवाले हेलिकोप्टर प्रयोग गर्दै छन् ।

एमाले अध्यक्ष ओली चितवनमा
एमाले अध्यक्ष केपी ओलीले पनि बिहीबार भरतपुरमा हुने सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । भरतपुर र पोखरा–लेखनाथ महानगरमा कांग्रेस र माओवादीबीच तालमेल भएपछि एमालेले यी दुवै महानगरलाई प्रतिष्ठाको विषय बनाएको छ । अध्यक्ष ओली पनि पछिल्लो समय सत्तारुढ दलहरूप्रति आक्रामक बन्दै गएका छन् । बुधबार मात्रै उनले काठमाडौंमा आयोजित कार्यक्रममा एमालेलाई मत नहाल्नुपर्ने कारणबारे सार्वजनिक बहसमा आउन सबैलाई चुनौती दिएका छन् ।

चितवन र काठमाडौंमा प्रचण्ड
प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बिहीबार कांग्रेस र माओवादीको संयुक्त आयोजनामा चितवनको भरतपुरमा हुने सभालाई सम्बोधन गर्दै छन् । भरतपुर महानगरबाट प्रचण्डपुत्री रेणु दाहाल मेयरको उम्मेदवार बनेकी छिन् । बिहीबारै उनी काठमाडौंका दुई चुनावी सभामा पनि सहभागी हुने कार्यक्रम छ । दिउँसो नागार्जुन र साँझ कीर्तिपुर नगरपालिकाको चुनावी सभालाई प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम रहेको काठमाडौं इन्चार्ज लेखनाथ न्यौपानेले बताए ।

रामचन्द्र पौडेल
नेता रामचन्द्र पौडेलले पनि बिहीबार लमजुङको मध्यनेपाल तथा तनहुँको शुक्लागण्डकी र भिमाद नगरपालिकाका सभालाई सम्बोधन गर्दै छन् । केन्द्रीय सदस्य शेखर कोइराला पोखरामा र कल्याण गुरुङ चितवनमा खटिएका छन् ।

माधव नेपाल
नेता माधव नेपालले उपत्यकाका कागेश्वरी, महालक्ष्मी र कीर्तिपुर नगरपालिकाका सभालाई सम्बोधन गर्नेछन् । त्यस्तै झलनाथ खनालले काठमाडौंमा, वामदेव गौतमले पोखरा र ईश्वर पोखरेलले चितवनका सभालाई सम्बोधन गर्नेछन् ।

नारायणकाजी श्रेष्ठ
नेता नारायणकाजी श्रेष्ठ गृहजिल्ला गोरखामा खटिएका छन् । त्यस्तै, नेता बादल भरतपुर, देव गुरुङ पोखरा, पम्फा भुसाल ललितपुर र हितमान शाक्यले काठमाडौं महानगरपालिकाको निर्वाचनमा पार्टीको कमान्ड सम्हालेका छन् ।

भट्टराई र कमल थापा पनि व्यस्त
नयाँ शक्ति पार्टी गठन गरेका पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराई पाँच दिन गृहजिल्ला गोरखाका चुनावी कार्यक्रममा सहभागी भएर काठमाडौं फर्केका छन् । बिहीबार उनले उपत्यकाका चुनावी सभाहरूलाई सम्बोधन गर्ने कार्यक्रम छ । त्यस्तै, स्थानीय चुनाव आफ्नो पक्षमा पार्न राप्रपा अध्यक्ष कमल थापा पनि जिल्ला दौडाहामा छन् । तीन दिनदेखि उनी गृहजिल्ला मकवानपुरमा खटिएका छन् ।

प्रचन्डको भोट रुख चिन्हमा
आफनो पार्टीलाई एक नम्बर बनाउने दावी गर्दै आउनु भएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको चुनाव चिन्ह रुख मा मतदान गर्दै छन्।
प्रधानमन्त्री समेत रहनु भएका दाहालले वैशाख ३१ गते चितवनको भरतपुर महानरपालिका वडा नम्बर ४ स्थित लक्ष्मी माद्यामिक विद्यालयमा रहेको मतदान केन्द्रमा पुगेर रुख चिन्हमा मतदान गर्दै छन् ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मुलुकभरका कार्यकर्तालाई गोलाकारभित्रको हसिया हथौडा चुनाव चिन्हमा मतदान गरी आफनो पार्टीका उम्मेदवारलाई जिताउन अपिल गर्दै आएका छन् । भरतपुरमहानगरपालिकाको मेयर पदकी प्रत्यासी रेणु दाहाल अध्यक्ष प्रचण्डकी छोरी छिन। रेणुको पक्षमा मतदान गर्न जाँदा अध्यक्ष प्रचण्डले उपमेयरमा रुख चिन्हमा मतदान गर्दै छन् ।