८ बैशाख २०८१, शनिबार
Follow Us

म्याग्दीमा तालमेलले रोचक बन्दै निर्वाचन !

नेपालब्रिटेन डट कम्
२८ बैशाख २०७४, बिहीबार १४:४१

म्याग्दी । स्थानीय तह निर्वाचनको मिति नजिकिएसँगै जिल्लामा चुनावी रौकनता छाएको छ । एक नगरपालिका र पाँच गाउँपालिका रहेको म्याग्दीमा ७१ हजार ४६३ मतदाता रहेका छन् । वैशाख ३१ गतेको निर्वाचनबाट २३७ जनप्रतिनिधि निर्वाचित हुने छन् । जिल्लामा ७२ वटा निर्वाचनस्थल कायम भएको छ ।
मुख्य चार राजनीतिक दलले चुनावी तालमेल गरी निर्वाचनमा उम्मेदवारी दर्ता गरेका छन् । मुख्य राजनीतिक दलले गाउँपालिकाको निर्वाचनलाई भन्दा आठवटा गाविस मिलाएर बनेको बेनी नगरपालिकालाई आफ्नो प्रतिष्ठासँग जोडेका छन् । पहिलो संविधानसभा निर्वाचनमा माओवादी विजयी भएको थियो भने दोस्रो संविधानसभा निर्वाचनमा एमालेले जितेको थियो ।
बेनी नगरपालिकामा नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)बीच तथा नेकपा (एमाले) र राप्रपाबीच तालमेल भएको छ । अन्य केही साना दल र स्वतन्त्र उम्मेदवारले समेत नगरप्रमुख र उपप्रमुखमा मनोनयन दर्ता गरेका छन् । काँग्रेस–माओवादी गठबन्धनबाट काँग्रेसका हरिकुमार श्रेष्ठ नगरप्रमुख र माओवादी केन्द्रकी ज्योति लामिछाने पौडेल उपप्रमुख पदमा उम्मेदवार बन्नुभएको छ । एमाले र राप्रपा गठबन्धनबाट नगरप्रमुखमा एमालेका प्रमोद श्रेष्ठ तथा उपप्रमुखमा राप्रपाकी सञ्जु बरुवाल चुनावी मैदानमा हनुहुन्छ ।
एमालेका श्रेष्ठ बेनी नगरपालिकालाई नमुना नगरको रुपमा विकास गर्ने योजना बनाएको बताउनुहुन्छ । उहाँले मतदाता भेटघाट, घरदैलो, चुनावीसभालगायत कार्यक्रमलाई तीव्र पार्नुभएको छ ।
काँग्रेस म्याग्दीका सचिव समेत रहनुभएका नगरप्रमुखका उम्मेदवार हरिकुमार श्रेष्ठ नगरपालिकाको सबै बस्तीमा विकासको सञ्चार गराउनु नै आफ्नो प्रमुख एजेन्डा भएको बताउनुहुन्छ । “अझै कुवाकै पानी खानुपर्ने बाध्यता छ, खानेपानी, सडक, स्वास्थ्य, शिक्षा, पर्यटनलगायत क्षेत्रको विकासका लागि योजना बनाएको छु,” उहाँले भन्नुभयो ।