६ चैत्र २०८०, मंगलवार
Follow Us

सुरक्षा व्यवस्था मजबुद छ, कसैले दख्खल दिन सक्दैन

नेपालब्रिटेन डट कम्
२९ बैशाख २०७४, शुक्रबार ०७:४७

Chhabilal-Joshi-2छविलाल जोशी, काठमाडौं प्रहरी प्रमुख

वैशाख ३१ गते हुने पहिलो चरणको स्थानीय तह निर्वाचनका लागि राजधानीमा आवश्यक सुरक्षा तयारी पूरा भइसकेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । प्रहरीले स्थानीय नर्वाचनका प्रमुख चुनौती पहिचान गरिसकेको  र त्यसलाई रोक्न आफूहरुले पर्याप्त तयारी गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले दाबी गरको छ  । काठमाडौं प्रहरीले आफूहरुको प्रयास चुनाव विरोधी कुनै पनि घटना हुन नदिने बताएको छ ।  यहि बिषयमा काठमाडौं प्रहरी प्रमुख एसएसपी  छबिलाल जोशीसँग  लोकराज अधिकारीले गर्नुभएको कुराकानी ।

० निर्वाचनको सन्दर्भमा चुनावी सुरक्षा कस्तो छ ?
– सम्पूर्ण चुनावी महोल बनेको छ, हामी पनि चुनावमै केन्द्रित भएर सुरक्षा व्यवस्थामा लागेका छौं । सम्पूर्ण स्थानमा हामीले प्रहरी परिचालन गरेका छौं । अन्य सुरक्षा निकायसँग साथ लिएर अगाडि बढेका छौं । प्रत्येक मतदान केन्द्रमा प्रहरी खटिसकेका छन् ।

० काठमाडौंका लागि मुख्य चुनौति के हो ?
– नयाँ चुनौति केही पनि छैन, परम्परागत चुनौति नै हुन् । पार्टीहरुबीच झगडा हुने, राजनीतिक दलहरुबीच असमझदारी, गुण्डागर्दी हुनै हुन् । अहिले निर्वाचन विरोधी केही राजनीतिक दल निर्वाचन बिथोल्न खोजेको छ । उनीहरु अहिले हाम्रा चुनौतिका रुपमा देखापरेका छन् ।

० निर्वाचन बिथोल्न खोज्ने दलहरुले त्यस्तो कुनै चुनौति उत्पन्न गर्ने संकेत प्राप्त भएको छ ?
– विभिन्न निकायबाट सूचना आइरहेको छ, चुनाव विथोल्छु भनेर खुल्लारुपमै भनिरहेका छन् । चुनाव बिथोल्न खोज्नेहरुको सम्पूर्ण चिजहरु लोकेट गरिसकेका छौं । त्यसैले सबैले ढुक्क भएर मतदान गर्न र आफूले चाहेको उम्मेदवारलाई जिताउन सुरक्षाका विषयमा कुनै चिन्ता नलिन आग्रह गर्दछु ।

० लुकेर मतदातालाई त्रसित पार्ने घटनालाई कसरी निस्तेज पार्नुहुन्छ ?
– मतदातालाई त्रसित पार्ने कुनै घटना भएको छैन, काठमाडौं सुरक्षित छ । विगत दुई तिन महिनादेखिको घटना हेर्नुहोस्, हामी सम्पूर्ण सुरक्षा निकायसँग समन्वय गरेर सुरक्षित वातावरण बनाउन हामी सक्षम छौं । अहिले काहिँकतै सुरक्षा चुनौतिको वातावरण छैन । २४ सै घन्टा प्रहरीले सुरक्षा दिइरहेको छ ।

० हिट एन्ड रनको सम्भावना यसपटक छैन ?
– त्यो सम्भावना हामी नकार्न सक्दैनौं, त्यो सम्भावनालाई मध्यनजर गरेर सुरक्षा रणनीति बनाएका छौं । प्रत्येक ठाउँमा इन्टरनल घेरामा प्रहरी रहने, त्यसबाहिर सशस्त्र र त्यसपछि नेपाली सेना रहन्छ । राष्ट्रिय अनुसन्धानका साथीहरुले सूचना संकलन गर्ने र सादा पोशाकका प्रहरी हामीले व्यापक खटाएका छौं । सानो घटना भयो भने मात्रै पनि हामी तुरुन्तै पक्राउ गर्न सक्ने हिसाबले क्षमता वृद्धि गरेका छौं ।

० यो निर्वाचन तपाईंको कार्यक्षमताको प्रतिष्ठासँग जोडेर हेरिएको छ नि ?
– काठमाडौंका लागि म नयाँ हौला, तर नेपाल प्रहरीमा नयाँ व्यक्ति होइन । सुरक्षा प्रणालीमा म नयाँ होइन । सबै मैले जाने, बुझेकै कुरा हुन् । विभिन्न कालखण्डमा नेपाली प्रहरीले यस्ता काम गर्दै आएको छ, त्यसको म पनि एउटा सदस्य हुँ । मेरो माथिका अधिकृत र तलका साथीहरुलाई समन्वय गरेर हामी अगाडि बढेका छौं । यी विषयलाई चुनौतिसँग गाँसिनु भन्दा पनि सबैले कर्तव्य पूरा गरौं । भयमुक्त वातावरणमा निर्वाचन हुने वातावरण बनाउन हामी समक्ष भएका छौं ।

० चुनाव विथोल्ने राजनीतिक दलका कार्यकर्ता पहिचान गर्नुभएको छ ?
– त्यस्ता व्यक्ति पहिचान भइसकेका छन्, केहीलाई हामीले हिरासतमा लिइसकेका छौं । हाम्रो सूचिमा रहेका व्यक्तिहरु हामी चिन्छौं । प्रत्येक व्यक्तिका पछि हामीले सुरक्षाकर्मी खटाएका छौं । उनीहरुप्रति हाम्रो अनुगमन र निरगानी निरन्तर छ ।

० कुनै त्यस्तो मतदान केन्द्र छ, जहाँ बढी सुरक्षा दिनुपर्छ ?
– रिङरोड बाहिर जहाँ पुग्न केही समय लाग्न सक्छ, त्यहाँ हामीले बढी सुरक्षाकर्मी र क्षमतावान अधिकृतहरुलाई खटाएका छौं । मतदान अधिकृतको छनोट पनि त्यही हिसाबले भएको छ ।

० मतदान केन्द्रमा सादा पोशाकका बिहानदेखि बेलुकीसम्म प्रहरी खटेका छन् ?
– बिहानदेखि बेलुकी होइन, ३ अगाडिदेखि हामीले उक्त क्षेत्रमा सादा पोशाकका प्रहरी परिचालन गरिरहेका छौं । त्यस्ता ठाउँहरुमा हामीले सम्पूर्ण सुरक्षाको तयारी पूरा गरेका छौं । त्यहाँको भौगोलिक वनावटसँग पनि प्रहरी जानकार छ । हुलहुज्जत गर्ने अथवा अशान्ति मच्चाउन सक्ने व्यक्तिलाई हामीले हिरासतमा लिइसकेका छौं । त्यो कुराको आँकलन नेपाल प्रहरीले गरिसकेको छ ।

० गुण्डा नाइकेहरु पनि पक्राउ परेका छन् ?
– गुण्डा नाइके भनेर होइन, केही व्यक्तिहरुको क्रियाकलाप समाजमा अपाच्य देखियो । जनता त्रसित हुन्थे, त्यसलाई मध्यनजर गरेर हामीले केही व्यक्तिलाई हिरासतमा लिएका हौं । जनताको अभिमतलाई फरक पार्ने क्रियाकलाप गर्छन भन्ने हामीलाई लागेर केही व्यक्तिलाई प्रि–एरेस्ट गरेका छौं ।

० २० जनाको लिस्ट बनाउनुभएको थियो, कति पक्राउ गर्नुभयो ?
– त्यो संख्या बढेर ४२–४५ पुगिसकेको छ । केही व्यक्ति हिरासतमा छन् भने केही व्यक्ति दैनिक हाजिरीमा छन् । त्यस्ता व्यक्तिलाई हामी निरन्तर निगरानी गरिरहेका छौं ।

० सुरक्षाको जिम्मा लिएको तपाईंले मतदातालाई कसरी आश्वस्त बनाउनु हुन्छ ?
– सुरक्षा व्यवस्था मजबुत छ, चुनावमय महोल भइसकेको छ । यसलाई कसैले दख्खल दिन सक्दैन । यदि कसैलाई सुरक्षाप्रति शंका लागे नागरिकले प्रहरीलाई सहयोग गर्नुपर्छ । उहाँहरुले हामीलाई सूचना दिनुपर्छ, सूचना हाम्रो हतियार हो, शंकास्पद व्यक्ति, वस्तुहरु देखिए तुरुन्त प्रहरीको कन्ट्रोल रुपमा खबर गर्न आग्रह गर्दछु । सुरक्षामा कुनै शंका गर्नुपर्दैन, सुरक्षित हुनुभएकाले आफ्नो अभिमत प्रकट गर्न आह्वान गर्दछु ।