१५ चैत्र २०८०, बिहीबार
Follow Us

जुन २५ मा लिभरपुलमा अन्तर्राष्ट्रिय सम्मेलन

नेपालब्रिटेन डट कम्
३० बैशाख २०७४, शनिबार २३:१०

संसारभरि फैलिएका नेपाली प्राज्ञहरुको संस्था ग्लोबल पोलिसि फोरम फर नेपालले नेपालमा गणतन्त्र कार्यान्वयनमा देखिएका व्यवधान र तिनका समाधानका सम्बन्धमा बेलायतको लिभरपुल जोन मुअर्स विश्वविद्यालयमा यही जुन २५ तारिखमा अन्तर्राष्ट्रिय सम्मेलन गर्न लागेको जनाएको छ।
सम्मेलनमा नेपालको आर्थिक विकासका अन्य पक्षमा पनि छलफल गरिनेछ ।
सम्मेलनले नेपालको संविधान कार्यान्वयनमा देखिएका समस्याबारे छलफल गरी नेपाल सरकार, संसद र अन्य निकायहरुलाई ती समस्याको समाधान तथा आर्थिक विकास संबन्धमा ठोस सुझावहरु प्रदान गर्ने बताइएको छ।
उक्त संमेलन संस्थाका कोषाध्यक्ष लिभरपुल जोन मुअर्स विश्वविद्यालयका प्राध्यापक एवं एसोसिएट डिन डा. पदम सिंखडाको संयोजनमा हुन लागेको हो ।
यसैबीच ग्लोबल पोलिसि फोरम फर नेपालले नेपालमा हुन गैरहेको स्थानीय चुनाव निष्पक्ष र शान्तिपूर्वक सम्पन्न गर्न नेपाल सरकारलाई आग्रह गरेको छ ।
“बीस वर्षको अन्तरालमा हुन लागेको स्थानीय चुनावपछि संविधान कार्यान्वयनको पहिलो चरण पार हुनेछ। लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासका लागि यो अतिआवश्यक कदम हो । पुरै विश्वले यसमा चासो दिएको हामीले देखिरहेका छौं,” फोरमका अध्यक्ष प्राध्यापक सूर्य सुवेदी, क्युसी, द्वारा जारी विज्ञप्तीमा भनिएको छ।
संसारभरी छरिएर रहेका नेपाली प्राज्ञिक वर्गबाट नेपालमा सुशासन र आर्थिक समृद्धिका लागि नीतिगत रुपमा योगदान दिने उद्देश्य लिएर प्रा. सुवेदीको अध्यक्षतामा सन् २०१५ मा ग्लोबल पोलिसि फर नेपाल स्थापना गरिएको थियो। जसको पहिलो अन्तराष्ट्रिय सम्मेलन सन् २०१५ को डिसेम्बरमा काठमाडौंमा भएको थियो काठमाडौंमा संपन्न फोरमको पहिलो सम्मेलनले भारतले नेपालमाथि लगाएको आर्थिक नाकाबन्दीका अन्तर्राष्ट्रिय कानूनी पक्ष र नेपालको उच्च शिक्षामा भएको राजनीतिकरणबाट उत्पन्न समस्याका बारे छलफल गरेको थियो ।
सम्मेलनले आर्थिक नाकाबन्दीका विरुद्ध आवश्यक परे अन्तराष्ट्रिय न्यायिक तथा अर्ध न्यायिक निकायमा जानका लागि नेपाल सरकारले उपयुक्त ठानेमा कानूनी सहयोग गर्न तत्पर रहेको सुझाव पनि दिएको थियो।