१६ चैत्र २०८०, शुक्रबार
Follow Us

एक सय १५ वर्षीया लामिछानेबाट मतदान

नेपालब्रिटेन डट कम्
३१ बैशाख २०७४, आईतवार ०६:०२

नुवाकोट । ककनी गाउँपालिका–८ का ११५ वर्षीया बाटुली लामिछानेले स्थानीय तहको निर्वाचनमा मतदान गर्नुभएको छ । उहाँले ककनीगाउँपालिका–८ मात्रागाउँमा रहेको अरुणोदय मावि मतदान केन्द्रबाट मतदान गर्नुभएको हो । उहाँले छोरा नेत्रप्रसाद लामिछानेको सहयोगमा मतदान गर्नुभएको मतदान अधिकृत रामस्नेही मण्डलले जानकारी दिनुभयो ।

विसं १९५९-१२-१० मा जन्मनुभएका लामिछानेले मत दिएपछि मुलुकमा शान्ति र विकास आउने आशा गरेको बताउनुभयो । यस्तै, जिल्लाको दुप्चेश्वर गाउँपालिका–५ का १०४ वर्षीया तुलसीकुमारी खत्रीले मतदान गरी महादेव मावि मतदान केन्द्रको शुभारम्भ गर्नुभयो ।

यता, सूर्यगढी गाउँपालिका–३ का १०१ वर्षीय अनन्तप्रसाद अधिकारीले मतदान गर्नुभयो । मतदान अधिकृत सिंहबहादुर तामाङका अनुसार बागेश्वरी मावि मतदान केन्द्रबाट अधिकारीले मतदान गरी शुभारम्भ गरिएको हो ।

लमजुङमा ९३ वर्षीया गुरुङद्वारा मतदान
त्यसैगरी लमजुङमा ९३ वर्षीया नैनाकुमारी गुरुङले मतदान गर्नुभएको छ । दूधपोखरी गाउँपालिकाअन्तर्गत बालोदय आधारभूत माविमा रहेको मतदान केन्द्रमा गुरुङले मतदान गर्नुभएको निर्वाचन अनुगमनमा खटिनुभएका सहसचिव शङ्करप्रसाद खरेलले जानकारी दिनुभयो ।