१५ चैत्र २०८०, बिहीबार
Follow Us

शीर्ष नेताहरुले कहाँ–कहाँबाट मतदान गरे ?

नेपालब्रिटेन डट कम्
३१ बैशाख २०७४, आईतवार ०६:३२

काठमाडौं । स्थानीय तहको निर्वाचनमा राजनीतिक नेतृत्व एवम् उच्च सरकारी पदाधिकारीले कुन मतदान केन्द्रबाट आफ्नो मताधिकार प्रयोग गर्दैछन् भन्ने कुरा आम चासोको रुपमा रहेको छ । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले चितवन जिल्लाको भरतपुर महानगरपालिका वडा नं ४ लंकुस्थित लक्ष्मी माध्यमिक विद्यालय मतदान केन्द्रमा बिहान ७ बजे मतदान गरेका छन् । उपप्रधानमन्त्रीत्रय विजयकुमार गच्छदार, विमलेन्द्र निधि र कृष्णबहादुर महराको मतदाता नामावली रहेको प्रदेशमा पहिलो चरणमा निर्वाचन हुँदैन ।

यसैगरी, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र एमालेका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनाल, पूर्वप्रधानमन्त्री एवम् राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता लोकेन्द्रबहादुर चन्दले पहिलो चरणमा मतदान गर्ने छैनन् ।

पूर्वप्रधानमन्त्री एवम् एमाले नेता माधवकुमार नेपालको नामावली पनि रौतहट जिल्लामा रहेकाले उनले जेठ ३१ मा हुने निर्वाचनमा मतदान गर्नेछन् ।

पूर्वप्रधानन्यायाधीश एवम् मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले काठमाडौं महानगरपालिका वडा नं १० बानेश्वर हाइटस्थित सानोगौचरण पार्क मतदान केन्द्रमा मतदान गरे । पूर्वप्रधानमन्त्री एवम् नयाँ शक्ति नेपालका अध्यक्ष डा बाबुराम भट्टराईले गोरखाको पालुङटार नगरपालिका वडा नं १ स्थित अन्नपूर्ण माध्यमिक विद्यालय केन्द्रबाट मतदान गरे ।
काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँको व्यास नगरपालिका वडा नं २ स्थित सत्यवती मावि र महामन्त्री डा शशाङ्क कोइरालाले काठमाडौं महानगरपालिका वडा नं ३ महाराजगञ्जचोकस्थित भ्याली स्कूल केन्द्रमा मतदान गरे ।

पूर्वउपप्रधानमन्त्री एवम् काँग्रेस नेता प्रकाशमान सिंहले काठमाडौं महानगरपालिकाको वडा नं १६ पकनाजोलस्थित नेपाल युवक मावि केन्द्रबाट मतदान गरे । पूर्वउपप्रधानमन्त्री एवम् माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले गोरखा जिल्ला सिरानचोक गाउँपालिका वडा नं ८ स्थित जौबारी मतदान केन्द्रबाट मतदान गरे ।
एमाले महासचिव ईश्वर पोखरेलले काठमाडौंको टोखा नगरपालिका वडा नं ७ धापासीस्थित स्काइलार्क स्कूल केन्द्रबाट मतदान गरे ।

सहरीविकास मन्त्री अर्जुननरसिंह केसीले नुवाकोट ककनी गाउँपालिका वडा नं २ स्थित ओखरपौवा केन्द्र, ऊर्जामन्त्री जनार्दन शर्माले रुकुमको मुसीकोट नगरपालिका वडा नं ६ शेरेगाउँस्थित यमुनानन्द नमुना मावि केन्द्र, परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले नुवाकोट जिल्ला पञ्चकन्या गाउँपालिका वडा नं २ स्थित ठाँटीभञ्ज्याङ केन्द्र, उद्योगमन्त्री नवीन्द्रराज जोशीले काठमाडौं महानगरपालिकाको वडा नं १९ ढोकाटोल केन्द्र र स्वास्थ्यमन्त्री गगन थापाले काठमाडौं महानगरपालिका वडा नं ३० मैतीदेवीस्थित मैतीदेवी मन्दिर मतदान केन्द्रबाट मतदान मतदान गरे ।

वाणिज्य मन्त्री रोमी गौचन थकालीले मुस्ताङको खासाङ गाउँपालिका वडा नं ३ लेतेस्थित जनोदय मावि केन्द्र, वन तथा भू–संरक्षण मन्त्री शङ्कर भण्डारीले तनहुँको भानु नगरपालिका वडा नं ९ स्थित कालिका मावि केन्द्र र महिला बालबालिका तथा समाज कल्याणमन्त्री कुमार खड्काले पोखरा महानगरपालिका वडा नं १६ अमरेस्थित चण्डिका प्रावि मतदान केन्द्रमा मतदान गरेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिका वडा नं ५, पिप्लेस्थित बालज्योति मावि मतदान केन्द्र र वरिष्ठ नेता पशुपतिशम्शेर जबराले सिन्धुपाल्चोक जिल्लाको सुनकोसी गाउँपालिका वडा नं २ महेन्द्रोदय उच्च माध्यमिक विद्यालय केन्द्रमा मतदान गरेका छन् ।

मुख्यसचिव डा सोमलाल सुवेदीले काठमाडौं महानगरपालिका वडा नं १४ कलङ्कीस्थित ब्लुरेन इङ्लिस बोर्डिङ स्कुल र खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव भीमप्रसाद उपाध्यायले ललितपुर महानगरपालिकाको यातायात व्यवस्था वाग्मती अञ्चल कार्यालय मतदान केन्द्रबाट मतदान गरेका छन् ।

नेपाली काँग्रेसका नगर प्रमुखका उम्मेदवार राजुराज जोशीले महानगरपालिका वडा नं २६ को यट्खा टोल केन्द्र र उपप्रमुख पदकी उम्मेदवार हरिप्रभा खड्गीले वडा नं २८ स्थित पद्मकन्या बहुमुखी क्याम्पस केन्द्रबाट मतदान मतदान गरेका छन् ।