६ बैशाख २०८१, बिहीबार
Follow Us

बेलायतमा किराँत राईहरुको साकेला उभौली भब्यताका साथ सम्पन्न

नेपालब्रिटेन डट कम्
३१ बैशाख २०७४, आईतवार १३:२७

लन्डन । किराँत राई यायोक्खा वेलायतले किरात राईहरुको महान पर्व उभौली साकेला शनिवार किरात राई हाउस गेम्बललेनमा भब्यता पूर्बक सम्पन्न गरेको छ। शिलिहाङ्पा / नक्छुङ किताब शेर राईले साकेला थानमा भुँमे पूजा गरेर साकेला सिली सुरुवात गरे पछी किराँत राई यायोख्खा युकेका कार्यसमिती लगायत बेलायतका प्रारम्भिक कार्यसमितीका अध्यक्ष र प्रतीनिधी समूहले संयुक्त रुपमा भुमे पूजा सम्पन्न गरे पश्चात औपचारिक कार्यक्रम शुरुवात भएको थियो ।

साकेला शिली प्रदर्शन तथा प्रतियोगिताका लागी सबै प्राकासहरुले आ-आफ्नो साकेला शिली प्रदर्शन गरेर प्रतियोगितामा उत्साह जनक सहभागिता जनाएका थिए ।

प्रतियोगितामा प्रारम्भिक कार्य समिती ग्रेटर रोस्मर प्रथम, प्रारम्भिक कार्य समिती आस्फोर्ड दोस्रो र प्रारम्भिक कार्य समिती ग्रेस तेस्रो भएका थिए।

कार्यक्रमका अतिथी वेलायतका लागी नेपाल राजदूत डा. दुर्गा बहादुर सुवेदीले किराँतहरुको ईतिहासको चर्चा गर्दै किराँत राई जातिलाई अलग्याए नेपाल कहिले पूर्ण नहुने बताउँदै, नेपालको सबै पर्वहरुको उतिकै महत्व भएपनि किराँत राई संस्कृति र सभ्यता संसारकै उत्कृष्ट रहेकाले यस्लाई संरक्षण र संबर्धन गरिनु पर्ने बताउनु भयो । किराँत राई यायोक्खाले वेलायतमा आफ्नै साकेला स्थल किनेकोमा खुसि ब्यक्त गर्दै यहाँ सामुदायिक भवन बनाउँदा राम्रो हुने र यस्तो अभियान चलाए दूताबासको तर्फबाट सक्दो सहयोग गर्ने बचन दिनुभयो।

अर्का अतिथी गिलफोर्ड बोरो काउन्सिलका डिपुर्टि मेयर माईक पर्सनले साकेलाको अवसरमा सबै राईहरुलाई शुभकामना दिनुहुदै कार्यक्रममा सहभागिता हुनपाएकोमा खुसी ब्यक्त गर्नु भयो।

किराँत राई यायोक्खा वेलायतका अध्यक्ष पदम बहादुर राई (BEM) ले कार्यक्रममा सहभागी सबै बिशिष्ट पाहुना प्रति आभार प्रकट गर्नु हुँदै कार्यक्रममा उपस्थित हुनु भएका अतिथीहरुलाई धन्यबाद ज्ञापन गर्नु हुँदै, बिषेश गरेर यस अगाडी नेपालका राजदुत महामहिमहरु को आउनु भयो ? को जानु भयो ?, त्यती जानकारी नभएको कुरा गर्नुहुँदै डा. डुर्गा बहादुर सुबेदी महामहिम राजदुत भएर युकेको दुताबास आएसँगै नेपाल सरकारको तर्फबाट बेलायतति भुमिमा प्रतीनिधी उपस्थित भएको प्रत्याभुती भएको महसुस सबै बेलायतबासी नेपालीहरुले अनुभुत गर्न पाएको कुरा जानकारी दिनु भयो ।

एनआरएन यूकेका अध्यक्ष मुछेत्र गुरुङ, किराँत राई यायोक्खा नेपालका पूर्व अध्यक्ष यसोधा राई, बिजिडब्लुएस (BGWS Radio) का सोनाम तेरिङ्ग शेर्पा, तामांग समाजका अध्यक्ष श्रीमती अन्जु योन्जन, किराँचुका अध्यक्ष काजिमान यक्सो लिम्बु, तमुधी युकेका अध्यक्ष ज्ञाम गुरुङ, मगर संघ युकेका अध्यक्ष लगायत अन्य जातिय संस्थाहरुका अध्यक्षहरु, जेष्ठ नागरिक (पुर्खा) बिर्ख राई, नेपाल देखी बेलायतमा साँगितिक कार्यक्रमका लागी आउनु भएका दमन रुपाखेति, परबन राई, गायिका कला राई, गायिका बिष्णु चेम्जोङ र खेलाडी / नायक राज कुमार राई अतिथिका रुपमा उपस्थित रहनु भएको थियो ।

हजारौं किराँत र गैर किराँतहरुको उपस्थिती रहेको साकेला उभौलिमा ई-मिडिया हब लिमिटेड युके सहित ब्यापारिक र खाना लगायत जानकारिका लागी स्टलहरु राखिएका थिए ।

कार्यक्रमको सुरक्षा र कार पार्किङको ब्याबस्थापनका लागी गोर्खा सेकुरिटी लिमिटेडले ३ दर्जन बढी सुरक्षाकर्मी उपलब्ध गराएर कार्यक्रममा सुरक्षा प्रदान गरेको थियो ।

साकेला उभौली २०१७ का सम्योजक उपाध्यक्ष क्याप्टेन सुमन चन्द्र राईले सुम्निमा पारुहाङको आशिर्बादले कार्यक्रम अत्त्यन्तै सफल र सुरक्षित रुपमा सम्पन्न भएको जानकारी दिनु हुँदै सम्पूर्ण उपस्थित सहभागीहरु प्रती साथै कार्यक्रम आयोजना गर्न प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्नु हुने लगायत किराँत राई यायोक्खा युकेका अध्यक्ष लगायत सबै कार्यसमिती र युकेबासी राईहरु प्रती आभार सहित धन्यबाद ज्ञापन गर्नु भएको छ ।

ब्याबस्थापनमा केहि कमी कम्जोरी भएको भए आफ्नो तर्फबाट माफी माग्दै आगामी दिनमा हुने कार्यक्रमहरुमा गर्नु पर्ने सुधारका बारेमा जानकारी गराई दिन पनि कार्यक्रम संयोजकका हैसियतले बिनम्र अनुरोध गर्नु भएको छ ।

औपचारिक कार्यक्रममा किराँत राई यायोक्खा वेलायतका बरीष्ठ उपाध्यक्ष श्रीमती कल्पना राईले स्वागत मन्तब्य दिंदै सबै सहभागी र अतिथिहरुको स्वागत गर्नु भएको थियो । सहमहा-सचिव श्रीमती चन्द्रवती राईले औपचारिक कार्यक्रम सन्चालन गर्नुभएको थियो।