४ बैशाख २०८१, मंगलवार
Follow Us

प्रधानमन्त्री दाहालले बुधबार देलान राजीनामा, निधिको एसएमएसमा के थियो ?

नेपालब्रिटेन डट कम्
१ जेष्ठ २०७४, सोमबार १५:३६

काठमाडौं । अनपेक्षित कुनै घटना घटेन भने सम्भवतः प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार राजीनामा दिने छन् । जेठ ४ गते बुधबार बस्ने संसदमा आफूले राजीनामा बुझाएको जानकारी गराउने छन् । अहिलेसम्म कांग्रेस सभापति शेरबहादुर देउवासँग भएको भद्र सहमति पालना गर्ने मुडमा प्रधानमन्त्री दाहाल देखिएका छन् । तर धेरैले भरतपुर महानगरपालिकाको निर्वाचन परिणामसँग प्रधानमन्त्री दाहालको राजीनामालाई जोडेर हेरेका छन् । यदि प्रधानमन्त्री पुत्री रेणु दाहाललाई जिताउन कांग्रेसले बइमान ग-यो भने प्रधानमन्त्री दाहालको राजीनामा केही दिन पर सर्न सक्ने बताइएको छ ।
प्रधानमन्त्री दाहालले छोरीलाई भरतपुर महानगरको मेयर बनाउनुको सोझो अर्थ संघीय संसदमा आफ्नो लागि सिट सुरक्षित गर्नु हो । भरतपुरबाहेक अन्य क्षेत्रमा प्रधानमन्त्री दाहालको चुनाव लड्न सक्ने क्षेत्र छैन । त्यसैले प्रधानमन्त्री दाहालले आफू सत्तामा पुगेपछि भरतपुरमा धेरै कागजी योजना पु-याइसकेका छन् ।
आउँदा हिउँदमा हुने संघीय संसदको निर्वाचनमा कांग्रेसकै सहयोगमा चितवनमा आफूले सुरक्षित स्थान नपाएसम्म प्रधानमन्त्री दाहाल राजीनामा नदिने स्पष्ट छ ।
यता, पार्टी र प्रधानमन्त्री पद आफ्नो ग्रिपमा राख्ने कांग्रेस सभापति शेरबहादुर देउवाको योजनाले त्यसबेला फेल खायो, जतिबेला गृहमन्त्री विमलेन्द्र निधिले राजीनामा दिए । पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई च्यापेर निधिलाई डिमोरलाइज गर्ने सभापति देउवाको योजना यसरी फेल खायो, जुनबेला निधिले राजीनामा दिएको दुई दिनपछि एउटा एसएमएस देउवालाई पठाए । निधिले एसएमएसमा लेखेका थिए, ‘अब तपाईंलाई रमेश लेखक र प्रकाशशरणले प्रधानमन्त्री बनाउन सहयोग गर्नेछन्, म जनकपुरतिर हिडे ।’
यो एसएमएस पाएपछि सभापति देउवा झस्के, रातारात निधिलाई फकाएर राजीनामा फिर्ता गर्न लगाए । सभापति देउवाले निधिसँग ‘म प्रधानमन्त्री भएपछि पार्टी उपसभापतिको जिम्मेवारी दिन्छु, म सरकार चलाउँछु, तिमी पार्टी सम्हाल’ भने । त्यसपछि निधिले राजीनामा फिर्ता लिएर पुनः गृहमन्त्रालय सम्हाल्न पुगेका हुन् ।
सम्भवतः प्रधानमन्त्री दाहालले कांग्रेससँग भएको सहमतिमा इमान्दारिता देखाए भने जेठको तेस्रो सातासम्म कांग्रेस सभापति देउवा प्रधानमन्त्री हुनेछन् । तर, खुमबहादुर खड्का र गोपालमान श्रेष्ठको हाउगुजी देखाएर सभापति देउवाले पार्टीको कमाण्ड निधिलाई दिन्छन् भन्ने ग्यारेन्टी केही छैन । किनभने पार्टी कहाँबाट सञ्चालित छ, त्यो कांग्रेस शीर्ष नेताहरुले समेत भेउ पाउन सकेका छैनन् ।
– सुनयना राउत