१६ चैत्र २०८०, शुक्रबार
Follow Us

मत गणना सारै ढिलो, उत्सुक सर्वसाधारण निराश

नेपालब्रिटेन डट कम्
२ जेष्ठ २०७४, मंगलवार ०६:२६

काठमाडौं । स्थानीय तह निर्वाचनअन्तर्गत पहिलो चरणमा आइतबार भएको निर्वाचनको मतगणना अति सुस्त भएको छ । मतदान गरेकाहरुले परिणाम चाँडो सार्वजनिक होस् भन्ने प्रतिक्षा गरेका सर्वसाधारण निराश बन्न थालेका छन् । मतगणना सुस्त हुनुलाई निर्वाचन आयोगले मतपत्रको जटिलता र धेरै उम्मेदवार रहनुलाई कारण देखाएको छ । काठमाडौं महानगरलाई नै उदाहरणका रूपमा लिने हो भने यहाँको मतपत्रमा ३ सय ७४ फरक चिह्न छन् ।
मतदातालाई चाहेको ठाउँमा मत हाल्न चिह्न भेट्न जति गाह्रो परेको थियो, गणनामा त्यही अवस्था दोहोरिएको छ । एउटै मतपत्रबाट प्रमुख र उपप्रमुखसहित ७ स्थानको मतको छिनोफानो गर्नुपर्छ । मतगणनास्थलमा रहेका सबै दल र उम्मेदवारका प्रतिनिधिमध्ये कसैले राम्ररी नदेखे मतदान अधिकृतहरूले नजिक लगेर राम्ररी देखाउनुपर्छ । त्यसले पनि गणनामा ढिलाइ भइरहेको छ । एउटै मत गन्न पनि ३ मिनेटसम्म लाग्ने गरेको देखिएको छ ।
अधिकांश नगरपालिका र गाउँपालिकाले सबै वडाको मतपेटिका एकै ठाउँमा भेला पारेर एक–एक वडाको गर्दै गणना गरिरहेका छन् । ढिलाइ हुनुको प्रमुख कारण यही हो । सामाजिक सञ्जालहरूमा यसको तीव्र आलोचना भइरहेको छ । अधिकांश सर्वसाधारणले जनशक्तिको अभाव वा अन्य के कारण हुन सक्छ भन्दै प्रश्न गरिरहेका छन् ।
आयोगले जनशक्ति अभावलाई पनि अस्वीकार गरेको छ । राजनीतिक दलहरूले पनि ढिलाइप्रति गुनासो गरिरहेका छन् । विज्ञहरूले एउटै निकायको मतगणना फरक–फरक ठाउँमा गर्न सकिने सुझाव दिएका छन् । अधिकांश ठाउँमा एउटै स्थानमा मात्र मतगणना भइरहेको छ ।
विकल्पबारे आयोगले गहनतापूर्वक सोचिसकेको पनि छैन । प्रमुख, उपप्रमुखदेखि वडा सदस्यसम्मको मत एउटै मतपत्रमा भएकाले यसभन्दा तीव्र रूपमा गन्न भने सम्भव नभएका दलका प्रतिनिधिहरूको भनाइ छ । निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीले मतपत्रको जटिलता र धेरै उम्मेदवारका कारण गणनामा केही ढिलाइ भएको स्वीकार गरेका छन् । उनले मतगणनामा तिव्रता ल्याउने लक्ष्यका साथ आयोगले काम सुरु गरेको बताए ।