८ बैशाख २०८१, शनिबार
Follow Us

हर्न निषेध कारबाहीबाट रु १८ लाख राजस्व

नेपालब्रिटेन डट कम्
२ जेष्ठ २०७४, मंगलवार १२:०८

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकामा एक महिनामा सवारी साधनको ‘हर्न निषेध’ कारबाहीबाट रु १८ लाख ६२ हजार राजस्व सङ्कलन गरेको छ ।
महाशाखाले काठमाडौँ महानगरपालिकासँग सहकार्य गरेर गत वैशाख १ गतेदेखि हर्न निषेध गरेको थियो । महाशाखाका प्रमुख एवम् प्रहरी नायब महानिरीक्षक मिङ्मार लामाले एक महिनाको अवधिमा हर्न निषेध कारबाहीअन्तर्गत उपत्यकामा तीन हजार ७२४ सवारी साधनका चालकलाई कारबाही गरिएको जानकारी दिनुभयो ।
“उपत्यका बाहिरबाट उपत्यका भित्रिने सवारी साधनका चालक बढी हर्न निषेध कारबाहीमा परेका छन्,” उहाँले भन्नुभयो । हर्न निषेध कार्यक्रमलाई लागू गरेपछि उपत्यकामा ९० प्रतिशत हर्न न्यूनीकरण भएको उहाँले दाबी गर्नुभयो ।
हर्न निषेध कारबाहीबाट सवारी दुर्घटना र मृत्यु हुनेको सङ्ख्यामा समेत कमी आएको महाशाखाले जनाएको छ । हर्न निषेध उल्लङ्घन गर्ने सवारी साधानको चालकबाट प्रतिचालक ट्राफिकले रु ५०० राजस्व सङ्कलन गर्दै आएको छ ।