७ बैशाख २०८१, शुक्रबार
Follow Us

‘अन्तर्कथा’ सँगै युकेमा प्रस्तुत हुँदै राजन

नेपालब्रिटेन डट कम्
२ जेष्ठ २०७४, मंगलवार १३:३५

काठमाडौं । गायक तथा संगीतकार राजन राई युकेमा एकल सांगीतिक कार्यक्रममा प्रस्तुत हँुदैछन् । चलचित्र निर्देशक एवं निर्मातासमेत रहेका राजन ३ जुनमा एकल साँझमा प्रस्तुत हुन लागेका हुन् ।
एकताका ‘प्रगतिशील गायक’का रुपमा ख्याती कमाएका राजन पछिल्लो समय पहिचानवादीका रुपमा चिनिन्छन् । पहिलोपटक युकेमा एकल सांगीतिक कार्यक्रममा प्रस्तुत हुन लागेका राजनले भने, ‘यो मेरो सांगीतिक यात्राको दौरानमा पहिलोपटक युकेमा रहेका नेपालीमाझ प्रस्तुत हुन लागेको हुँ । अत्यन्तै खुसी लागेको छ ।’
राजन युकेमा एकल साँझमा मात्र प्रस्तुत हुने छैनन् । जहाँ उनले आफ्नो बृत्तचित्र ‘अन्तरर्कथा’ पनि देखाउँनेछन् । पहिचानवादी तथा जनपक्षीय गीतसंगीतका पक्षधर मानिने राजनले ‘अन्तर्कथा’मा आदिवासीकै आवाज बुलन्द गरेको बताए । उनका अनुसार बृत्तचित्रमा २५० बर्षे विभेद तथा दलनको कथाब्यथा र त्यसकाबिरुद्ध जनताले गरेका बिद्रोहका अन्तरसंघर्षलाई चित्रण गरिएको छ ।
राजनले भने, ‘बृत्तचित्रमा पहिचान र अधिकारवादीहरुको आवाज छ । ‘अन्तर्कथा’मा नेपालमा वैदिक आर्यनको आगमनपछि आदिवासी जनजातीहरुमा हुँदै आएको विभेदलाई तथ्यपरक रुपमा प्रस्तुत गरिएको छ ।’
यो बृत्तचित्र युकेमा प्रदर्शन गर्नअघि यही ६ गते नेपाल चलचित्र विकास बोर्डमा देखाइँदैछ । बृत्तचित्र राजनकै कथा तथा निर्देशनमा तयार भएको हो । यसलाई उनी खोज तथा अनुसन्धानमूलक बृत्तचित्र भन्न रुचाउँछन् ।
नेपाली सांगीतिक क्षेत्रमा तीन दशकभन्दा लामो समय विताइसकेका राजनले सांगीतिक करिअरको प्रारम्भबाटै जजपक्षीय एवं जनआवाजलाई गीतमार्फत बुलन्द गर्दै आएका छन् । यहाँसम्मको यात्रामा उनले दर्जनौ एकल शो तथा प्रस्तुती दिइसकेका छन् । केही समयअघि मात्र युरोपको विभिन्न मुलुकमा सांगीतिक कार्यक्रम गरेका राजनले भने, ‘यसपटक पनि युकेलगायत युरोपका अन्य मुलुक र खाडी मुलुकहरुमा सांगीतिक प्रस्तुती दिन लागेको छु ।’ जहाँ जहाँ सांगीतिक कार्यक्रममा प्रस्तुत हुनेछन्, त्यहाँ आफूले बृत्तचित्र ‘अन्तर्कथा’ पनि देखाउँने उनको योजना छ । ‘यो मेरो यात्रा सांगीतिक कार्यक्रमसँगै बृत्तचित्र रिलिज गर्ने उद्देश्य पनि हो’ उनले भने, ‘यसका लागि सबै कार्यक्रम तय भइसकेको छ ।’
‘दृष्टि’ जस्ता केही फिचर फिल्म र दर्जनौ बृत्तचित्रहरु निर्माण तथा निर्देशन गरिसकेका राजनका कान थापेर सुनिदेउ, शिरैमा मेरो, तारा खस्यौली, कोशी दोभान, छितिजै पारी जस्ता दजैनौ चर्चित र कालजयी गीतहरु छन् । ती आफ्ना लोकप्रिय गीतहरु युकेमा पनि प्रस्तुत गर्ने राजनले सुनाए ।