६ चैत्र २०८०, मंगलवार
Follow Us

फ्रान्सको यूरोप फिर्ती

नेपालब्रिटेन डट कम्
३ जेष्ठ २०७४, बुधबार १२:०४

जाकी लाइदी
फान्समा सम्पन्न राष्ट्रपतिको निर्वाचनको परिणामको पूर्ण प्रभाव बुझ्न केही समय लाग्नेछ । तथापि इमान्यूएल माक्रोँको विजय फ्रान्सका लागि मात्र नभएर समग्र यूरोपकै लागि उल्लेखनीय रहेको हामीले थाहा पाइसकेका छौं ।

केहीका लागि माक्रोँको विजय यूरोपलाई हालै छोएको जनवादी छालबाट फ्रान्स अलग भएको कुराको प्रतिनिधित्व हो । संयुक्त अधिराज्यको बे्रक्जिट र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्वाचन पछि जनवादले यूरोपियन यूनियनमाथि अस्तित्वको खतरा निम्त्याउने काम गरेको छ । माक्रोँको विजयको अर्थ जनवादी जोखिम समाप्त भएको अर्थ नलागे तापनि यसले त्यस्ता शक्तिहरुलाई नियन्त्रण गर्न सकिने रहेछ भन्ने कुरा देखाएको छ । र फ्रान्समा जनवादलाई नियन्त्रण गरिएको तथ्य अन्य यूरोपेली देशहरुका लागि राम्रो समाचार हो ।

माक्रोँको निवार्चनले अर्थ किनपनि राख्छ भने त्यसले फ्रान्सप्रतिको विश्व धारणालाई सम्भवतः परिवर्तन गरिदिने छ । माक्रोँ अघिका राष्ट्रपति फ्रान्स्वा ओलाँदले कुटनैतिक सक्रियतावादको नीति अवलम्बन गरे जसअनुसार उनले विशेषगरी अफ्रिकाको मालीमा इस्लामिक विस्तारवादविरुद्व र इस्लामिक स्टेटविरुद्वको लडाइँमा उल्लेखनीय योगदान पुर्याउने काम गरे ।

तर ओलाँदको विदेश नीतिले विश्वमञ्चमा कमजोर हुँदै गइरहेको फ्रान्सको खस्किँदो अर्थतन्त्रलाई अझ कमजोर बनाउने काम गर्यो । यो विशेषगरी यूरोपेली तहमा स्पष्ट देखियो, जहाँ फ्रान्स र जर्मनीबीचको बढ्दो असन्तुलनका कारण जर्मनीको मितव्ययी नीतिहरुलाई टक्कर दिने कुरा फ्रान्सका लागि असम्भवप्रायः भएको छ ।

माक्रोँको एउटा सबल पक्ष भनेको उनले एउटा अत्यावश्क कुरा बुझेका छन् ः यूरोपसँगको फ्रान्सेली नीतिमा कुनै पनि परिवर्तन ल्याउनका लागि फ्रान्सको अर्थतन्त्रलाई सुदृढ बनाउन आवश्यक छ । यूरोपविरुद्ध प्रहार गर्दै सबै घरेलु समस्याका लागि इयूलाई दोष दिने अन्य वामपन्थी नेताहरु भन्दा फरक माक्रोँ संरचनागत सुधारलाई कार्यान्वयन गर्ने आफ्नै असक्षमताका कारण फ्रान्स कमजोर भएको कुरामा विश्वास गर्छन् । वास्तवमै यूरोपेली देशहरुमध्ये फ्रान्सको औसतभन्दा तलको आर्थिक वृद्धि छ र वेरोजगारी विरुद्ध लड्ने नीति सबैभन्दा कमजोर छ ।

माक्रोँमा भएको नयाँ कुरा भनेको उनले यो तर्कलाई निर्वाचन प्रचारप्रसारको क्रममा स्पष्टसँग अभिव्यक्त गर्न सके तर अन्य नेताहरु स्वार्थवश यूरोपको प्रतिरक्षा गर्नबाट टाढै रहे । विस्तृत आर्थिक सुधार विना यूरोपको अवस्थामा परिवर्तन ल्याउन वा फ्रान्स–जर्मन सम्बन्धमा सन्तुलनलाई पुनःस्थापित गर्न असम्भव रहेको कुरामा माक्रोँ विश्वास गर्दछन् ।

तर माक्राँको निर्वाचनले फ्रान्स र जर्मनीबीच रहेको सबै विवादहरुलाई समाधान गर्नेछ भन्ने कुरा कसैले सोच्नु हुँदैन । यूरोपमा आर्थिक शासनको भविष्यबारे दुई देशको दूरदृष्टिमा उल्लेखनीय भिन्नता रहेको छ । र जर्मनी भन्दा फ्रान्स सङ्घीयतातर्फ बढी ढल्कन सक्ने सम्भावना पनि रहेको देखिन्छ, जुन कुरा जनविश्वास विपरित हो ।

फ्रान्सले वास्तविक यूरोजोन बजेटको माग गरेको छ भने जर्मनी आपतकालीन अवस्थामा मात्र प्रयोग गर्न सकिने साधारण यूरोपेली मुद्रा कोषको पक्षमा रहेको छ । यूरोपेली बजेट तर्जुमा गरेर जर्मनहरु आफ्ना हात बाँध्न चाहँदैनन्, किनभने उनीहरु यूरोपसँग आर्थिक रुपले बढी एकीकृत हुन वास्तवमै चाहँदैनन् ।

माक्रोँ भने अझ गहिरो यूरोपेली एकतालाई समर्थन् गर्छन् किनभने इयूको नीति निर्माणमा जर्मनीको प्रभुत्व हटाउने यो एउटै मात्र उपाय हो भन्ने कुरा उनलाई थाहा छ । तर अघिल्ला राष्ट्रपतिहरु विशेषगरी निकोलास सारकोजी जस्तै माक्राँे फ्रान्स र जर्मनीबीच देखावटी समानता मात्र सिर्जना गर्न चाहँदैनन् । वास्तविक समानता नै फ्रान्सको आर्थिक शक्तिलाई सुदृढ गर्ने आधार हो भन्ने कुरामा उनी विश्वास गर्छन् । त्यसैकारण, माक्रोँको नेतृत्वमा फ्रान्स वास्तवमै पुनस्र्थापित हुनसक्यो भने फ्रान्स र जर्मनीबीचको सम्बन्ध झन तनावपूर्ण हुनसक्ने सम्भावनालाई नकार्न सकिंदैन ।

माक्रोँको विचारमा फ्रान्सले जर्मनीले पनि त्यही गरोस् भन्ने चाहन्छ भने आफूलाई पहिला परिवर्तन गर्नुपर्छ । स्वदेशमा अत्यावश्यक सुधारहरु अवलम्बन गरेर माक्रोँको सरकारले यूरोपको आर्थिक समस्यालाई सम्बोधन गर्न कदम चाल्न जर्मनीमाथि दवाब दिन सक्छ । सम्भवतः माक्रोँले जुन महिनामा राष्ट्रिय सभाको निर्वाचन भए लगत्तै फ्रान्सको श्रम ऐनमा सुधारको प्रस्ताव गर्नेछन् । सुधार पारित भएमा त्यसले लगानीकर्ताको आत्मबल बढाउने र रोगी फ्रान्सको तस्विरलाई पनि हटाउने काम गर्नेछ ।

तर यूरोप माक्रोँको रणनीतिक प्राथमिकताको विषय रहे तापनि उनले अन्य मुद्दाहरु जस्तै रुससँग फ्रान्सको सम्बन्धलाई पनि सम्बोधन गर्नुपर्छ । यस विषयमा पनि माक्रोँ राष्ट्रपतिका अन्य उम्मेद्वार भन्दा फरक थिए यो अर्थमा कि उनले रुसी राष्ट्रपति भ्लादिमीर पुटिनसँग समान व्यवहार गर्ने वाचा गरेका छन् । परम्परागत रुपमा रुसप्रतिको फ्रान्सको झुकावको परिप्रेक्षमा यो उल्लेखनीय कुरा हो ।

स्वभाविक रुपमा माक्रोँले पुटिन सरकारसँग काम गर्ने प्रयास गर्नेछन् । तर फ्रान्सको आन्तरिक मामिलामा रुसी हस्तक्षेपलाई उनले बिर्सने छैनन् । निवार्चनको अन्त्यतिर माक्रोँको चुनावी प्रचारप्रसार विरुद्ध भएको साइबर आक्रमणमा के्रमलिनको स्पष्ट भूमिका थियो भने नेसनल फ्रन्टकी नेतृ तथा माक्रोँका प्रतिद्धन्द्धी मेरिन ल पेँलाई रुसले खुला रुपमा समर्थन गरेको थियो ।

देशको वैदेशिक नीति निर्वाचन र राष्ट्रपतिको पद भन्दा पनि दीर्घकालीन विषयहरुले निर्धारण गरिनुपर्छ भन्ने कुरा स्पष्ट छ । फ्रान्सको विदेश नीतिका मुख्य पक्षहरु आउँदा बर्षहरुमा परिवर्तन हुने छैनन् । तर एउटा निकै पुरानो देशको युवा नेताका रुपमा आफ्नो पदको लाभ माक्रोँले उठाउने छन् ।

फ्रान्सका लागि आफ्नो दूरदृष्टि र इयू समर्थित स्पष्ट एजेण्डाका साथ माक्राँे यूरोपको अर्थतन्त्रलाई पुनस्र्थापित गर्ने र फ्रान्स–जर्मनी सम्बन्धलाई सन्तुलित बनाउने नेता बन्न सक्छन् । र यसलाई सम्भव बनाउन उनले यूरोपमा कुटनीतिक र सन्य नेताका रुपमा फ्रान्सको ऐतिहासिक भूमिकालाई पुनस्र्थापित गर्न आवश्यक छ । यदि उनी सफल भएमा अझ बलियो यूरोपको उदय हुनेछ, र त्यो सम्पूर्ण विश्वकै लागि लाभदायक हुने पक्का छ । लाइदी पेरिसमा विज्ञानका प्राध्यापक हुन् र फ्रान्सका भूतपूर्व प्रधानमन्त्री म्यानूएल भाल्सको राजनीतिक सल्लाहकारका रुपमा रहेका थिए ।