७ बैशाख २०८१, शुक्रबार
Follow Us

मतपत्र ठूलो हुँदा मतगणनामा ढिलाइ

नेपालब्रिटेन डट कम्
३ जेष्ठ २०७४, बुधबार १२:०६

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले मतपत्र ठूलो भएको कारण मतगणना कार्यमा ढिलाइ भएको बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा डा यादवले थोरै ठाँउमा मतगणना र ठूलो मतपत्र भएकाले मतगणना कार्य ढिलो भएको बताउनुभयो । “५१×७३ सेन्टीमिटरको मतपत्र हुँदा मतगणना कार्यमा ढिलाइ भएको हो,” उहाँले भन्नुभयो ।

डा यादवले मतगणना कार्यलाई छिटो गर्नका लागि आवश्यक जनशक्ति खटाइसकिएको बताउँदै अब काठमाडौँ महानगरपालिकामा ११ स्थान, ललितपुर महानगरपालिकामा १० र भरतपुर तथा पोखरा महानगरपालिकामा ६÷६ स्थानमा मतगणना गर्न लागिएको छ । “एक हप्ताभित्रै मतपरिणाम आउनेगरी मतगणना गर्छौं,” उहाँले भन्नुभयो ।

डा यादवले अहिले २५ जिल्लाको मतगणना भइरहेको बताउनुभयो । “धेरै उम्मेदवारलाई एउटै मतपत्रमा मतदान गर्नुपर्ने भएकाले धेरै मत बदर भएको हो”, उहाँले भन्नुभयो । उहाँले संविधान कार्यान्वयनको पहिलो खुड्किलो स्थानीय तहको निर्वाचन भएको भन्दै दोस्रो चरणको निर्वाचनलाई पनि सहज र सरल तरिकाले सम्पन्न गर्न आयोग लागिपरेको बताउनुभयो ।

“पहिलो चरणको निर्वाचनमा सुरक्षालगायतको क्षेत्रमा केही कमी–कमजोरी भएका छन् त्यसलाई सच्याएर दोस्रो चरणको निर्वाचनमा अगाडि बढ्छौँ,” डा यादवले भन्नुभयो ।