८ बैशाख २०८१, शनिबार
Follow Us

प्रधानमन्त्रीका लागि एमालेले वामदेवलाई अघि सार्ने, राजपा पनि सरकारमा जाने

नेपालब्रिटेन डट कम्
४ जेष्ठ २०७४, बिहीबार ०७:२१

काठमाडौं । पुष्पकमल दाहालले प्रधानमन्त्रीबाट आउँदो सोमबार राजीनामा दिने मनस्थिति बनाएका छन् । त्यसपछि बन्ने सरकारका लागि एमालेले उपाध्यक्ष वामदेव गौतमलाई अघि सार्ने भएको छ । दाहालले राजीनामा दिने घोषणा गरेलगत्तै प्रमुख प्रतिपक्षी दल एमालेले सरकारको नेतृत्वमा आफ्नो दाबेदारीको आन्तरिक तयारी गरेको बुझिएको छ ।
एमालेका उपाध्यक्ष वामदेव गौतमको निवास भैंसेपाटीमा हिजो बुधबार बसेको स्थायी कमिटी बैठकमा सरकार निर्माण बहुमतीय प्रक्रियाका लागि संसद्मा गएपछि पार्टीले उम्मेदवारी दिने सैद्धान्तिक निर्णय भएको हो । स्पष्ट रूपमा उम्मेदवारी नतोकिए पनि कांग्रेस सभापति देउवालाई माओवादी र मधेस केन्द्रितलगायतका दलहरूले अघि सारेको अवस्थामा एमालेका तर्फबाट उपाध्यक्ष गौतम स्वयं नै उम्मेदवार बन्ने जानकारी पार्टी उच्च स्रोतले दिएको छ।
उता राष्ट्रिय जनता पार्टी नेपालले कांगे्रस सभापति देउवा र प्रधानमन्त्री दाहालसँग छुट्टाछुट्टै भेट गरी दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा सहभागी बन्न संविधान संशोधन अनिवार्य हुनुपर्ने अडान राखेको छ । उनीहरूको अडानप्रति देउवा र दाहालले संसद्मा संविधान संशोधन लैजाने तर पर्याप्त दुई तिहाइको संख्या अभावमा संशोधन प्रस्ताव पारित हुन नसक्ने अवस्थालाई स्विकार्न आग्रह समेत गरेका छन् ।
मधेश केन्द्रित राजनीतिक दलहरुको अभिभावक भूमिका निर्वाह गर्दै आएको भारतले पनि राजपालाई स्थानीय तहको दोस्रो निर्वाचनमा सहभागी हुन सल्लाह दिएपछि बुझिएको छ । राजापाभित्र देउवा सरकारमा सहभागी हुनुपर्ने बारेमा पनि छलफल भइरहेको एक स्रोतले बतायो । यद्यपि राजपाले सरकारमा जाने औपचारिक निर्णय भने गरिसकेको छैन । तर सत्तामा बसेर निर्वाचनमा जाँदा पार्टीलाई फाइदा पुग्ने विश्लेषणसहित राजपा देउवा सरकारमा सहभागी हुनसक्ने बताइएको छ ।