८ बैशाख २०८१, शनिबार
Follow Us

दुई राप्रपा एक अध्यक्ष पशुपतिशमशेर

नेपालब्रिटेन डट कम्
११ श्रावण २०७३, मंगलवार १४:४८

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल समानान्तर समूहबीच एकीकरण भएको छ । राष्ट्रवादी शक्तिको एकताको माग भएअनुरुप दुई समान पृष्ठभूमि बोकेका पार्टीबीच आज एकीकरण भएको हो । एकीकरण कार्यक्रममा पार्टीका अध्यक्ष पशुपतिशमशेर राणाले राष्ट्रियता, प्रजातन्त्र, उदारवाद र हिन्दू राष्ट्रको रक्षाका लागि एकीकरण गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “सात-आठ महिनाअगाडि हाम्रै पार्टीभित्र विवाद थियो मिल्यौँ, सुरुमा राष्ट्रिय जनशक्ति र राप्रपा मिल्यो, आज राप्रपा नेपाल समानान्तर समितिसँग मिल्दैछौँ अब राप्रपा नेपालसँग मिल्छौँ ।”
राप्रपाका वरिष्ठ नेता डा प्रकाशचन्द्र लोहनीले नेपालको राजनीति तथा समाजको विकासक्रमलाई सही मार्गमा ल्याउन परम्परागत, राष्ट्रवादी शक्तिको एकताको माग भएअनुरुप दुई समान पृष्ठभूमि भएका पार्टीको एकता भएकोे बताउनुभयो ।
उहाँले भन्नुभयो, “देशमा एउटा राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको खाँचो सबैलाई महसुस भएको छ । हिजोको कुरा के के भयो, त्यसलाई बिर्सिएर अब विधि र प्रक्रियाअनुरुप एकता टुङ्गिन्छ, तब हामी जे गर्छाैँ एक भएर गर्छाैँ ।”
राप्रपा नेपाल समानान्तरका नेता सगुन लावतीले राष्ट्रिय राजनीतिमा राष्ट्रवादी शक्तिको निर्णायक भूमिका आवश्यक भएकाले एकतामा जुटेको बताउनुभयो । समान विचारधारा भएको राष्ट्रवादी शक्ति एक हुनुपर्छ भन्ने उद्देश्यले एकीकरण भएको उहाँले स्पष्ट पार्नुभयो ।
बैठकले राप्रपा नेपालसँग पार्टी एकताको कुरामा सैद्धान्तिक सहमति जनाएको राप्रपाका सहप्रवक्ता किरण गिरीले जानकारी दिनुभयो ।

राप्रपा अध्यक्षमा राणा
राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा पशुपतिशमशेर राणा चयन हुनुभएको छ । पार्टी एकीकरणको अवसर पारेर राणालाई अध्यक्षको जिम्मेवारी दिइएको हो ।
विसं २०४६ को राजनीतिक परिवर्तनसँगै वैकल्पिक प्रजातान्त्रिक शक्तिका रुपमा गठन भएको राष्ट्रिय प्रजातन्त्र पार्टी विभिन्न समयकालमा विभाजित भए पनि २०७० सालमा राष्ट्रिय जनशक्ति पार्टी र राप्रपाबीच एकीकरण भएको थियो ।
पार्टी एकताको चरणमा भएको भद्र सहमतिअनुरुप चक्रिय प्रणालीअनुसार राणा अध्यक्ष हुनुभएको हो । चक्रिय प्रणालीअन्तर्गत पहिलो सूर्यबहादुर थापा, दोस्रो लोकेन्द्रबहादुर चन्द, तेस्रोमा पशुपतिशमशेर राणा र चौथोमा डा प्रकाशचन्द्र लोहनी बन्ने सहमति भएको थियो । सोही सहमतिअनुरुप राणा अध्यक्ष बन्नुभएको हो ।