११ बैशाख २०८१, मंगलवार
Follow Us

पेट्रोलियम पदार्थको अन्वेषणका लागि ग्लोबल टेन्डर

नेपालब्रिटेन डट कम्
५ जेष्ठ २०७४, शुक्रबार १३:३२

काठमाडौं । उद्योगमन्त्री नवीन्द्रराज जोशीले पेट्रोलियम पदार्थको अन्वेषण कार्यका लागि आगामी असार १५ गतेभित्र ग्लोबल टेन्डर आह्वान गरिसक्ने बताउनुभएको छ ।
उद्योग मन्त्रालयद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा धनगढीदेखि विराटनगरसम्म १० वटा ब्लकको पहिचान भएको भन्दै सवै ब्लकमा उक्त टेन्डरमार्फत आह्वान गर्ने मन्त्री जोशीले बताउनुभयो । उहाँले पैसावालाभन्दा पनि प्राविधिक रुपमा सक्षम निजी क्षेत्रलाई काम दिने बताउनुभयो ।
राष्ट्रको आर्थिक विकासमा खनिज क्षेत्रको महत्वपूर्ण योगदान हुने र रसुवामा रहेको जस्ता र सिसा खानी उद्योग सञ्चालनमा ल्याउने तयारी भइरहेको मन्त्री जोशीको भनाइ थियो । कुनै पनि उद्योगले विशेष औद्योगिक क्षेत्र स्थापना गर्न खोजेमा सरकारले उद्योगको प्रकृति, लगानी र रोजगारीको स्थिति हेरी लगानी गर्ने उहाँले बताउनुभयो ।
छाला जुत्ताका व्यवसायीले उद्योग स्थापनाका लागि पहल गरिरहेकाले उक्त क्षेत्रमा लगानी गर्न अर्थमन्त्रालयसँग पहल भइरहेको समेत उहाँले जानकारी दिनुभयो । नवलपरासीको धौवादी क्षेत्रमा रहेको फलामखानी सञ्चालन गर्ने कार्य अगाडि बढाउने तयारी भइरहेको भन्दै मन्त्री जोशीले गणेश हिमालजस्ता सिसा परियोजना उद्योग सञ्चालनमा ल्याउन छलफल भइरहेको बताउनुभयो ।