७ बैशाख २०८१, शुक्रबार
Follow Us

चेपाङ पनि स्थानीय तहमा निर्वाचित

नेपालब्रिटेन डट कम्
६ जेष्ठ २०७४, शनिबार १५:००

काठमाडौं । बर्षमा नौ महिना अनिकाल र तीन महिना मात्रै सहकालका रुपमा भोग्दै आएका अल्पसङ्ख्यक चेपाङ समुदायलाई नयाँ संविधानले राजनीतिक रुपमा अधिकार सम्पन्न मात्रै बनाएन, स्थानीय तहमा नै निर्वाचित हुने वातावरण बनाएको छ । मुलुकभर नै राष्ट्रिय जनगणना, २०६८ अनुसार कुल ८६ हजार ३९९ जनसङ्ख्या रहेको चेपाङ समुदाय निर्वाचित भएको र राजनीतिक अधिकार सम्पन्न भएको यो पहिलो पटक हो ।
धादिङ, गोरखा, मकवानपुर र चितवनमा सो समुदायको बाक्लो उपस्थिति रहेको छ । धादिङमा मात्रै आठजना चेपाङ समुदायका अगुवा यसपटकको स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका छन् ।
धादिङको स्थानीय तहको निर्वाचनमा १४ जना चेपाङहरुले बेनीघाट रोराङ र गजुरी गाउँपालिकाका विभिन्न पदमा उम्मेदवारी दिएका थिए, तीमध्ये एक महिलासहित सात जनाले विजय हासिल गरेका छन् । नेकपा (एमाले)बाट तीनजना, नेकपा (माओवादी केन्द्र)बाट तीनजना र नेपाली काँग्रेसबाट एकजना गरी सातजना चेपाङ उम्मेदवार स्थानीय तहको निर्वाचनमा विजयी भएका हुन् ।
नेपाली काँग्रेसका तर्फबाट गजुरी वडा नं ४ को वडाध्यक्षमा सुजन चेपाङ विजयी हुनुभएको छ भने अन्य चेपाङ उम्मेदवार वडा सदस्यमा विजयी भएका छन् ।
नेकपा (माओवादी केन्द्र)बाट विजयी हुने चेपाङ उम्मेदवार वीरबहादुर चेपाङ बेनीघाट रोराङ गाउँपालिका वडा नं १० का वडा सदस्य, पूर्णिमा चेपाङ, सोही गाउँपालिकाको वडा नं ७ सदस्य, राम्जी चेपाङ वडा नं आठ सदस्यमा निर्वाचित भएका छन् ।
नेकपा (एमाले)बाट विजयी हुने चेपाङ उम्मेदवारमा सीताराम चेपाङ बेनीघाट रोराङ, गाउँपालिका वडा नं ६ का सदस्य, हर्कबहादुर चेपाङ सोही गाउँपालिका वडा ९ नं का सदस्य, सुजन चेपाङ गजुरी गाउँपालिका वडा नं २ का सदस्यमा तथा नेपाली काँग्रेसबाट सुरेन्द्र चेपाङ गजुरी गाउँपालिका वडा नं ४ बाट वडाध्यक्षमा निर्वाचित हुनुभएको छ । अत्यन्तै सीमान्तकृत समुदायका रुपमा रहेको चेपाङ समुदाय स्थानीय तहको निर्वाचनबाट राजनीतिक मैदानमा उत्रेर विजयी भएका हुन् । धादिङका चेपाङ समुदायका अगुवा तिलक चेपाङले संविधानले गरेको नयाँ राजनीतिक व्यवस्थाले अल्पसङ्ख्यक समुदायलाई पनि राज्यको मूलप्रवाहमा ल्याएको बताउनुभयो ।
चेपाङ समुदायको गाँस, बास र कपासको समस्या नै सबैभन्दा जटिल समस्याका रुपमा रहेको छ । जलवायु परिवर्तन र मानवीय अतिक्रमणका कारण चेपाङ समुदायको परम्परागत खाद्यान्न गिट्ठा भ्याकुर लोप हुँदै गएको छ । चेपाङ अगुवा तिलक चेपाङले संविधानको प्रावधानअनुसार धादिङ, गोरखा, चितवन र मकवानपुरको चेपाङ बाहुल्य क्षेत्रलाई विशेष संरक्षित क्षेत्रका रुपमा विकास गर्नुपर्ने र उनीहरुलाई अधिकार सम्पन्न बनाउनुपर्नेमा खण्डीकरण गरिएकोमा दुःख व्यक्त गर्नुभयो ।
धादिङको बेनीघाट–रोराङ गाँउपालिकाको नाम नै चेपाङ समुदायसँग जोडेर राखिएको छ । चेपाङ भाषामा ‘रोराङ’को अर्थ ‘फूलबारी’ भन्ने हुन्छ । गोरखाको घ्याल्चोक, भुम्लीचोक, ताङचोक, मकैसिंह र ताक्लुङमा चेपाङ समुदायको बाहुल्य रहेको छ ।
चितवनको लोथर, सिद्धी र कोराकमा समेत सो समुदायको बाहुल्यता रहेको छ । मकवानपुरको हाँडीखोलामा वनकरियाका रुपमा रहेका समुदायसमेत चेपाङ नै रहेको तिलक चेपाङको भनाइ छ ।
नेपाली काँग्रेसबाट गजुरी गाउँपालिका–४ बाट वडाध्यक्ष निर्वाचित सुरेन्द्र चेपाङले आफ्नो पहिलो प्राथमिकता सडक निर्माण गर्नु रहेको बताउनुभयो । उहाँले चेपाङ समुदायको भाषा, संस्कृतिलाई संरक्षण गर्न एवम् उनीहरुलाई खाद्यान्न एवम् दैनिक जनजीवनलाई सहज बनाउने आफ्नो प्रयास रहने जानकारी दिनुभयो ।
प्रमुख राजनीतिक दलले पछिल्लो समय चेपाङ समुदायलाई राजनीतिको मूल प्रवाहमा ल्याउने प्रयास गर्नु सकारात्मक भएपनि आर्थिक विकास नगर्दासम्म अधिकारले मात्रै केही नहुने अगुवा तिलक चेपाङको भनाइ छ ।
– रमेश लम्साल