७ बैशाख २०८१, शुक्रबार
Follow Us

शपथ खाइसकेपछि ‘पराजित’ भन्दै प्रमाणपत्र फिर्ता लिइयो

नेपालब्रिटेन डट कम्
६ जेष्ठ २०७४, शनिबार १५:१५

नवलपरासी । वडासदस्यमा निर्वाचित घोषित एक महिला सदस्यलाई तीन दिनपछि पराजित भएको भन्दै निर्वाचन अधिकृतले प्रमाणपत्र फिर्ता लगेका छन् । नवलपरासीको विनयी–त्रिवेणी गाउँपालिकाको वडा नम्बर–२ बाट नेपाली कांग्रेसकी महिला सदस्य उम्मेदवार विन्दा नेपाललाई निर्वाचन अधिकृत हरिलाल पुरीले मत परिणाम सुनाउँदै निर्वाचित भएको घोषणा गरेका थिए ।
मत परिणाम घोषणा गरेको दुई दिनपछि नेपालसहित सबै विजयी उम्मेवारलाई शपथ खुवाउँदै प्रमाणपत्र वितरण गरिएको थियो । साँझपख एमाले कार्यकर्ताहरुले विरोध गर्दै कार्यालयमा ताला लगाएपछि पुरीले पुनः मतपरिणाम हेर्दै एमालेकी पुष्पा आलेको बढी मत भएको भन्दै आलेलाई विजयी घोषणा गरेका हुन् ।
मत परिणाम घोषणा गर्दा नेपालको १ हजार ४९ मत भनिए पनि प्राविधिक त्रुटि हुन गएको भन्दै मतपरिणाम हेर्दा नेपालको १ हजार ३९ मतमात्र देखिएकाले १ हजार ४९ मतसहित आलेलाई विजयी घोषणा गरी प्रमाणपत्र फिर्ता लिइएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।