१६ चैत्र २०८०, शुक्रबार
Follow Us

संविधान संशोधन र प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्ताव फिर्ता लिऊ

नेपालब्रिटेन डट कम्
६ जेष्ठ २०७४, शनिबार १५:२५

काठमाडौं । नेकपा एमालेले संविधान संशोधन र प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाअभियोग प्रस्ताव फिर्ता लिन सरकारलाई आग्रह गरेको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको एमाले स्थायी कमिटी बैठकले दोस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि सहज वातावरण बनाउन संविधान संशोधन र महाअभियोग प्रस्ताव फिर्ता लिन सरकारलाई आग्रह गरेको हो ।
बैठकले पहिलो चरणको स्थानीय निर्वाचनमा सत्तारुढ दलहरुले सत्ताको चरम दुरुपयोग गरेको भन्दै धाँधली र ‘बुथ क्याप्चर’जस्ता अलोकतान्त्रिक गतिविधि गर्नेहरुमाथि छानबिन गरी दोषीलाई कारबाही गर्न संसदीय समिति गठन गर्न माग पनि गरेको छ ।
बैठकपछि एमाले सचिव योगेश भट्टराईले दोस्रो चरणको निर्वाचनलाई सहज वातावरणमा सम्पन्न गर्ने स्थिति बनाउन सरकारले संविधान संशोधन र महाअभियोग प्रस्ताव फिर्ता लिनुपर्ने र पहिलो चरणको निर्वाचनकाक्रममा भएका अवाञ्छित घटना छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने बताए । मधेसकेन्द्रित दलहरुले निर्वाचनमा भाग नलिने भनी बहानाबाजी गरिरहेको र कुनैपनि हालतमा निर्धारित् मितिमै निर्वाचन गर्नुपर्नेमा एमालेले जोड दिएको सचिव भट्टराईले जानकारी दिए ।