७ बैशाख २०८१, शुक्रबार
Follow Us

भेरी करिडोर सडकले चीन र भारतलाई जोड्दै

नेपालब्रिटेन डट कम्
७ जेष्ठ २०७४, आईतवार ०४:५४

जाजरकोट । जाजरकोट–डोल्पा सडकखण्ड राष्ट्रिय सडक सञ्जालमा जोडिन अब आठ किलोमिटरमात्र बाँकी रहेको नेपाली सेनाले बताएको छ । अहिले डोल्पाको करवगाड, त्रिपुरासुन्दरी नगरपालिका सडक सञ्जालको पहुँचमा पुगेको छ ।

नेपाली सेनाले निर्माण गरिरहेको जाजरकोट–दुनै सडकखण्डको ११७ किमीमध्ये आठ किमीमात्र निर्माण गर्न बाँकी रहेपछि तल्लो डोल्पावासीको वर्षौंदेखिको गाडीमा चढ्ने सपना पूरा भएको छ ।

जाजरकोट–डोल्पा सडक निर्माणपछि एकातिर डोल्पा सदरमुकाम सडकको राष्ट्रिय सञ्जालमा जोडिनेछ भने अर्कोतर्फ छिमेकी जिल्ला रुकुम र जाजरकोटका दुर्गम गाउँमा यातायातको पहुँच पुगेको छ । यो सडक निर्माणसँगै चीन र भारतलाई जोड्ने मुख्य मार्ग पनि स्थापित हुनेछ । ठूलठूला पहाड र अत्यधिक कडा चट्टानका कारण उक्त सडकको निर्माण कार्य कहिले सकिएला भन्ने अन्योल कायम रहेका बेला नेपाली सेनाले निर्माण कार्यलाई अन्तिम चरणमा पु¥याएपछि वर्षौंदेखिको आशा पूरा हुन लागेको भन्दै स्थानीयवासी हर्षित छन् ।

डोल्पा सदरमुकाम दुनैसम्म मोटरबाटो पु¥याउने २२ वटा कम्प्रेसर मेसिनले पहाडमा प्वाल पारेर दैनिक ५०० किलो विस्फोटक पदार्थ खपत भइरहेको सडक निर्माण कार्यदलका प्रमुख विश्वबन्धु पहाडीले बताउनुभयो । पहाडीका अनुसार सैनिक कार्यदलको ध्यान जतिसक्दो चाँडो डोल्पा सदरमुकाम दुनैसम्म सडक पु¥याउनेतर्फ मात्र केन्द्रित छ ।
सडक निर्माणका लागि छवटा सैनिक बेस क्याम्प राखिएको छ भने दैनिक ५०० भन्दा वढी श्रमिक काममा जुटिरहेका छन् ।
सडक निर्माणस्थल भौगोलिक रूपले विकट तथा कडा चट्टान नभएको भए यसअघि नै उक्त सडकको निर्माण कार्य समाप्त भइसक्ने सेनाको भनाइ छ ।

हाल डोल्पावासी जिल्ला बाहिर जानु प¥यो भने रुकुमको सिमाना करवगाडमा पुगेर जिप चढ्ने गर्छन् । उक्त सडकखण्डमध्ये साढे ३० किमी रुकुम र ४६.७ किमी जाजरकोटमा पर्छ । डोल्पामा पर्ने साढे ३१ किमीमध्ये अब आठ किमी मात्र सडक निर्माण गर्न बाँकी छ ।

पहाडीका अनुसार खदाङसम्मको सडक निर्माण सकिएपछि डोल्पावासीको आफ्नै जिल्लामा यातायातका साधन चढ्ने वर्षौंदेखिको सपना पूरा हुनेछ । आउँदो दसैँभित्र खदाङसम्म मोटर पु¥याइने लक्ष्यका साथ काम भइरहेको प्रमुख सेनानी पहाडीले बताउनुभयो ।

खदाङदेखि दुनैसम्मको आठ किमी कडा चट्टाने पहाडमा सडक निर्माणको काम सक्न भने अरु एक वर्षजति लाग्ने सेनाको अनुमान छ । दूरीको हिसाबले दुनैदेखि खदाङसम्म पुग्न त्यति टाढा नभएकाले सदरमुकामसम्म मोटरबाटो नपुग्दै सञ्चालनमा ल्याइने बताइएको छ ।

डोल्पा सदरमुकाम सडकको राष्ट्रिय सञ्जालमा जोडिएसँगै दुई छिमेकी मुलुक चीन र भारत जोड्ने सबभन्दा छोटो मार्गसमेत सोही सडक हुनेछ । भेरी करिडोर नाम दिइएको उक्त सडकखण्डले चीनको स्वशाषित क्षेत्र तिब्बत–मारिम्ला भञ्ज्याङ–धो–दुनै–खदाङ–जाजरकोट–छिन्चु–नेपालगन्ज हुँदै रुपैडिहा नाकाबाट भारतलाई जोड्ने छ । दुवै छिमेकी मुलुकबाट प्रशस्त अवसर लिन सकिने सम्भावना भएकाले मन्त्रालयले उक्त सडकलाई रणनीतिक महत्वका रूपमा लिने गरेको छ । दक्षिणको रुपैडिडादेखि उत्तरको मरिमसम्मको दूरी करिब साढे चार सय किमी जति हुने बताइएको छ ।

सांसद शक्तिबहादुर बस्नेतले डोल्पाको रणनीतिक सडक निर्माणका लागि पर्याप्त बजेटको व्यवस्था गरिँदै आएको बताउनुभएको छ । अझै छिटो छरितो कामका लागि बजेट कमी हुन नदिने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
अहिले डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका सडक सञ्जालसँग जोडिएकाले अब तल्लो डोल्पावासी सुविधा उपभोग गर्न सफल भएको बस्नेतले बताउनुभयो । माथिल्लो डोल्पामा काम छिटो गर्नका लागि एकीकृत सडक निर्माणको कार्यदिशा बनाएर सडक निर्माण गरिनुपर्ने पूर्व शान्तिमन्त्री सत्य पहाडीको भनाइ छ ।