६ चैत्र २०८०, मंगलवार
Follow Us

मत परिणाममा गाई हरायो, हामी गम्भीर छौं : गिरी

नेपालब्रिटेन डट कम्
७ जेष्ठ २०७४, आईतवार ०८:१७

dilnath-giri-2दिलनाथ गिरी, नेता राप्रपा

स्थानीय तहको पहिलो चरणको निर्वाचनमा तेस्रो ठूलो शक्ति राष्ट्रिय प्रजातन्त्र पार्टीको लज्जास्पद पराजय भएको छ । उसले अहिलेसम्म एउटा गाउँपालिकाको अध्यक्ष मात्र जितेको छ । हिन्दू धर्म र राजसंस्था उसको एजेन्डा हो, यो एजेन्डा जनताले मन पराएनन कि भन्ने विश्लेषण नेता दिलनाथ गिरीको छ । राप्रपाको पराजय र भावी रणनीतिबारे भीम आत्रेयले नेता गिरीसँग गरेको कुराकानी–

० गाई हराएको सूचना निकाल्ने बेला भएन ?
– यो प्रश्न गम्भीर, यो परिणामले हामीलाई पनि आश्चर्यचकित बनाएको छ । हामीले जुन एजेन्डा बोकेर हिडेका थियौं, नेपाली जनताको अपूर्व आर्षकण हामीसँग थियो । हामी कुन प्वाइन्टमा गएर चुक्यौं, त्यो विषयमा हामी चाँडै समीक्षा गर्छौ । जुन विन्दुबाट हामी चुकेका छौं, त्यहीबाट हामी सच्चाउँछौं । जनताको अभिमतलाई हामी शिरोधार्य गछौं । जनताको चाहना, भावना र मन दुखाउने काम हामी गर्दैनौं । जनताको यो अभिमत हामी शिक्षाका रुपमा लिन्छौं ।

० तपाईंहरुको राजसंस्था र हिन्दूधर्मको एजेन्डा जनताले अस्वीकार गरेका हुन् ?
– हाम्रो वृहद ध्यानाकर्षण भयो, यो विषयमा हामी समीक्षा गछौं । जहाँ गल्ती भयो, त्यहीबाट करेक्सन गरेर हामी अगाडि जान्छौं, जनताको मन दुखाउँदैनौं ।

० पत्तासाफ हुने गरी चुनाव किन हार्नुभयो ?
– मुलुक, जनता र राष्ट्रका लागि हामीले ठीक ढंगले काम गरेका थियौं भन्ने लागेको थियो, तर अहिलेको जनादेशले हामीले काहिँ गल्ती गरेका रहेछौं भन्ने महसुस भएको छ । परीक्षा दिएपछि कुन विषयमा फेल भयो भन्ने कुरा रिजल्ट आएपछि थाहा हुन्छ । मौका परीक्षा दिँदा त्यही विषयमा फस्ट डिभिजन पनि ल्याउन सक्छ ।

० अहिले त सातवटै विषयमा दाग लागेजस्तो भयो ?
– सात विषयमा दाग लागे पनि फस्ट डिभिजन ल्याउने प्रयास गछौं ।

० एमालेसँग मीत लगाउने रहर पुग्यो ?
– यी सबै विषयवस्तुमा हामी समीक्षा गछौं । जहाँ गल्ती भयो, त्यहीबाट करेक्सन हुन्छ । अहिलेको जनादेश भनेको सबै दल मिलेर अगाडि बढ्ने हो । हामीले जनादेशअनुसार नै तालमेल गरेका थियौं, त्यो गल्ती भयो वा सही अब समीक्षा हुन्छ । प्रजातन्त्रमा एकपटक चुनाव हार्दैमा समाप्त हुँदैन, त्यसैले हामी विचलित भएका छैनौं ।

० सत्ताबाट बाहिरएर चुनावमा धक्का लागेको हो ?
– सरकारमा जानु हुँदैन थियो, गइसकेपछि चुनावको मुखमा बाहिरिनु हुँदैन थियो भन्ने एउटा जनमत थियो । यस विषयमा पनि हाम्रा ध्यानार्षण भएको छ । काम गर्दै जाँदा हामी कहाँ चुक्यौं, यो विषयमा समीक्षा हुन्छ ।

० नेतृत्वको कारणले निर्वाचन हारेको हो जस्तो लाग्दैन ?
– यो निर्वाचनपछि सबै विषयमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । हामी चुकेको ठाउँ समीक्षापछि पत्ता लाग्छ ।

० दोस्रो चरणको निर्वाचनमा राजपा मीत लगाउने हल्ला छ नि ?
– नयाँ संस्कृतिको विकास गरेर हामी अगाडि जाने हो । कसैको बहुमत आउने अवस्था छैन, सबै दलहरु मिलेर नयाँ संस्कृतिलाई उदाहरण बनाएर अगाडि बढ्ने जनादेश छ । मधेश, पहाड र हिमाल जहाँ बसे पनि हामी नेपाली हौं । राष्ट्र र जनतालाई समृद्ध बनाउनका लागि हामी जोसँग पनि मिलेर अगाडि बढ्न सक्छौं ।

० अब बन्ने सरकारमा तपाईंहरु सहभागी हुनुहुन्छ ?
– हाम्रो ध्यान चुनावतिर गएको छ, चुनावको परिणामले पार्टीलाई गम्भीर बनाएको छ । पार्टीमा यी सबै विषयमा छलफल हुन्छ, के गर्दा उपयुक्त हुन्छ, पार्टीले निर्णय लिनेछ ।

० संविधान संशोधन स्ताव बैशाख १७ गते नै संसदमा प्रस्तुत हुनेवाला थियो, तपाईंहरुकै सांसद गायब भएर अलपत्र परेको होइन ?
– प्रजातन्त्रमा प्रत्येक व्यक्तिले आफ्नो दृष्टिकोण राख्न पाउने स्वतन्त्रता छ । मत मतान्तर हुने, छलफल हुने प्रजातन्त्रको सुनौलो पक्ष हो । यो विषयलाई लिएर हाम्रो पार्टीमा पनि केही मतमतान्तर भयो । तर हामीले कुन ठाउँमा कुन विषयले राष्ट्रघात भयो भनेका छौं । बसेर छलफल गरौं, बहस गरौं । छलफलमा उहाँहरुले पनि राष्ट्रघात काहिँ देख्नुभएन । हामीले कुनै किसिमले जनता कमजोर हुने र राष्ट्र विखण्डन हुने काम गर्नु हुँदैन भन्ने हाम्रो मान्यता थियो, यसमा केही साथीहरुको विमति थियो, त्यो उहाँहरुले महसुस गर्नुभएको छ, अब त्यो स्थिति नरहला ।

० अब उहाँहरु गायब हुनुहुन्न ?
– आत्महत्या राम्रो मानिदैन, कसैले आत्महत्या गर्छु भन्छ भने रोक्न सकिदैन । त्यो स्थिति राम्रो होइन भन्ने हामीलाई लागेको छ ।

० संविधान संशोधन प्रस्ताव पारित गर्न राप्रपाले सहयोग गर्छ ?
– राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन गर्दैन प्रस्ताव पारित हुँदैन, प्रस्ताव पारित गर्न दुई तिहाइ बहुमत चाहिन्छ । राप्रपा संलग्न हुँदा पनि सरकारले बहुमत पु¥याउन सकेको छैन । दुईतिहाइको सुनिश्चित भइसकेपछि उक्त प्रस्ताव ल्याउन उपयुक्त हुन्छ भन्ने मलाई लाग्छ ।

० दुईतिहाई पर्खने हो भने मोर्चा निर्वाचनमा नजाने भयो ?
– संविधानको विषयलाई लिएर मधेशी मोर्चाले जस्तै विपक्षमा हामीले पनि मतदान गरेको हो । विधि र प्रकृयाबाट संविधान बन्छ, संक्रमणकालको अन्त्य हुन्छ र मुलुकलाई समृद्ध बनाउने बाटोको ढोका खुल्छ भन्ने कुरालाई हामीले स्वीकार गरेका हौं । हाम्रो एजेन्डा सम्बोधन भएको छैन, भोलि जनताको विश्वास जितेर यही संविधानको परिधिभित्र रहेर हाम्रो एजेन्डा स्थापित गर्छौ भनेर हामीले संविधानको आलोचनात्मक समर्थन गरेका हौं । संविधान संशोधन गर्न सरकारले प्रयास गरेको थियो, प्रयास गर्दागर्दै सरकारले त्यो कुरा पु¥याउन सकेन भने यो बाध्यता र विवशता मधेशका दलहरुले बुझिदिनुपर्छ । प्रयास गर्दागर्दै नसकेको कुरालाई जर्बजस्ती गर्नुभएन ।

० प्रकृयामा लैजाने, पास भए हुन्छ, नभए हुँदैन भन्ने हो ?
– विधि र प्रकृयालाई सबैले आत्मसाथ गर्नुपर्छ । प्रजातन्त्रमा विश्वास गर्ने हो भने बाटो त्यही हो । सरकारले प्रयास गरेको हो, सकेन भने मधेशी दलहरु पनि निर्वाचनमा आउनुपर्छ ।