६ चैत्र २०८०, मंगलवार
Follow Us

समृद्ध गलकोट हाम्रो चाहना

नेपालब्रिटेन डट कम्
८ जेष्ठ २०७४, सोमबार ०६:५४

रेणुका काउचा मगर, उपमेयर, गलकोट नपा बाग्लुङ
समाज परिवर्तनको जिम्मेवारी युवा पुस्तामा हस्तान्तरण गरियो भने के हुन्छ ? यो प्रश्न परीक्षण हुन पाँच वर्ष पर्खिनै पर्छ । किनभने स्थानीय तह पहिलो चरणको निर्वाचनमा अधिकांश युवा नेतृत्व पुगेका छन् । बाग्लुङको गलकोट नगरपालिकाको उपमेयरमा युवा नेतृ रेणुका काउचाले जित हात पारेकी छन् । ३० वर्ष नकटेकी काउचाको वाक्पटुकतामा मात्र अब्बल होइन, व्यवहार पनि एक्सन ओरिएन्टेड छ भनिन्छ । यिनै विषयमा काउचासँग कुमार राउतले गरेको कुराकानी :

० उपमेयर निर्वाचित हुनुभयो सर्वप्रथम बधाई र शुभकमना ।
– धन्यवाद ।

० कति वर्ष लाग्नुभयो ?
– ३० वर्ष लागें, यो विषयमा चर्चा परिचर्चा भइसकेको छ ।

० जित्छु भन्ने लागेको थियो ?
– पूर्णरूपमा आत्मविश्वास थियो, तर यति धेरै अन्तरले विपक्षी पराजित हुन्छ भन्ने लागेको थिएन ।

० पराजित अन्तर धेरै भयो ?
– मेयरको थोरै भए पनि मैले चाहिँ ६ हजार ९९ मतको अन्तरले जितेकी हुँ ।

० लोकप्रिय हुनुहुँदो रहेछ ?
– म लोकप्रिय त हुँदै हुँ, मभन्दा पनि यो क्षेत्रमा नेपाली कांगे्रस लोकप्रिय छ ।

० जनमोर्चा र एमालेको संगठन बलियो भएको क्षेत्र होइन यो ?
– उहाँहरू पनि हुनुहुन्छ, तर नेपाली कांगे्रसजस्तो लोकप्रिय हुनुहुन्न ।

० तपाईं लोकप्रिय हुनुको कारण ?
– विद्यार्थी राजनीतिबाट आएकी हुँ । स्ववियु, मगर विद्यार्थी र अहिले महिला संघको केन्द्रीय सदस्य छु । अहिले युवाहरूलाई बढी रुचाइँदो रहेछ । त्यसो त मेरो राजनीतिक इमान्दारिता, मप्रति जनताको विश्वासले सम्भवतः यिनै कारण म लोकप्रिय भएको होला ।

० जातीय राजनीतिमा पनि हुनुहुँदो रहेछ ?
– हो, हाम्रो परिवेशमा मगर र तामाङ समुदाय पछाडि परेका छन् । आफ्नो हकअधिकारलाई स्थापित गर्न मैले जातीय संगठन रोजेकी हुँ । उनीहरूलाई पनि मूलधारमा समाहित गर्नुपर्छ भन्ने मेरो मान्यता हो । त्यसैले हामीले बढी शैक्षिक मुद्दामा जोड दिएका छौं ।

० कांगे्र्रस कसरी बन्नुभयो ?
– यो पार्टीमा मेरो हजुरबुबादेखिको लगानी छ । बीपीको समाजवादको दर्शन पढेर कांगे्रस बनेको पनि होइन । बाल्यकालमा बुझेर कांगे्रस राजनीतिमा फाल हानेको होइन, बीपी जयन्ती तथा अन्य कार्यक्रममा हजुरबुवा जानुहुन्थ्यो, म पनि उहाँसँगै जान्थें । स्कुल पढ्दासमेत मलाई कांगे्रसको राजनीतिप्रति खासै चासो थिएन । तर कलेज पढ्न थालेपछि पर्वतकी कसुम थापा दिदीलाई मलाई स्ववियुको राजनीतिमा संलग्न हुन पे्ररित गर्नुभयो ।

० राजनीतिमा संलग्न नहुँदा कलेजका दिन कसरी बित्थ्यो ?
– अध्ययन अध्यापन त छँदै थियो, त्यससँग खेलकुदमा पनि रुचि राख्थें, भलिबल खेल्थें । उम्मेदवारको टिकट पाउन प्रतिस्पर्धा गर्नुपर्छ, संगठनले उम्मेदवार बनाउँदा भिड्नुपर्छ भनेपछि राजनीतिप्रति चासो राख्न थालेकी हुँ ।

० कुन कलेज पढ्नुभयो ?
– सरस्वती क्याम्पस पढें, त्यहाँबाट एमबीएको अध्ययन सकेपछि अहिले कानुन क्याम्पसमा एलएलबीको अन्तिम वर्ष अध्ययन गर्दैछु । सरस्वती क्याम्पस पढ्दा स्ववियुको कोषाध्यक्ष थिएँ ।

० अब पढ्नु हुन्छ कि जनताको सेवामा लाग्नुहुन्छ ?
– एलएलबीको अन्तिम वर्षको परीक्षा दिन बाँकी छ । त्यसअघि पनि कलेज गएर पढ्न पाइनँ । अब अन्तिम वर्षको परीक्षा लेख्छु, जनताको सेवा गर्दै अध्ययन पनि सक्छु ।

० चुनाव जित्नुअघि जनतालाई के भन्नुभएको छ ?
– झुटो आश्वासन दिएको छैन, कम्युनिस्टले जस्तो सपना बाँडेकी छैन । गर्न सक्ने काम गर्छु, आफ्नै साधनस्रोतको उपयोग गरेर समृद्ध गलकोटको अभियानमा जनताको साथ मागेकी छु ।

० यो काम चाहिँ गर्छु भन्नुभएको होला नि ?
– हामीकहाँ पिउने पानीको समस्या छ, पानी पिउन पाउने नागरिकको नैसर्गिक अधिकारबाट कोही वञ्चित हुनु हुँदैन भन्ने मेरो मान्यता हो । विकास भनेको बाटो हो, एडीबीले सबै वडामा बाटो त पु¥याएको छ, त्यसको स्तरोन्नति सम्भव भएसम्म प्रयास हुनेछ ।

० तपाईंले गर्न चाहेको ?
–  आवश्यकताअनुसार काम गर्दै जाने हो, हाम्रो लक्ष्य भनेकै समृद्ध गलकोट निर्माण हो ।

० उपमेयरको काम, कर्तव्य र अधिकारबारे जानकारी छ ?
– उपमेयरले न्यायिक समितिमा रहेर काम गर्ने हो, यद्यपि त्यसबारे निर्देशिका आइसकेको छैन । निर्देशिका आइसकेपछि र कर्मचारीको व्यवस्थापन भएपछि समन्वय गरेर अघि बढ्ने हो । अहिले काम, कर्तव्य र अधिकारबारे अन्योलता छ, त्यसैले अधिकारका बारेमा बहस गर्न उचित होलाजस्तो लाग्दैन ।

० उपमेयर बन्छु भनेर कानुन पढ्नु भएको हो ?
– मेरो अध्ययनसँग निर्वाचित पदको कुनै साइनो छैन । एउटा नागरिकले देशको नियम, कानुन र संविधानबारे जानकारी राख्नुपर्छ भन्ने उद्देश्यले कानुन पढेकी हुँ । विशेषतः देश संघीयतामा जाँदै गर्दा कानुनको विषयमा ज्ञान राख्नुपर्छ भनेरै ‘ल’ क्याम्पसमा भर्ना भएकी थिएँ ।

० तपाईंको नगरमा महिलाको अवस्था कस्तो छ ?
– समग्र नेपालका महिलाको अवस्थासँग मिल्दोजुल्दो छ । तर परिवर्तनको रफ्तार बढिरहेको छ । मेरी आमाले जुन समस्या भोग्नुभयो, मैले भोग्नु परेको छैन । समाज परिवर्तनशील छ, त्यहीअनुरूप नेपाली महिलाहरू पनि परिवर्तित र आत्मनिर्भर बन्दै गइरहेका छन् । महिला शिक्षा र आत्मनिर्भर समृद्धिको एउटा पाटो हो भन्ने मैले बुझेकी छु ।

० कतिको सम्भव छ ?
– युवा नेतृत्वले केही गर्न सक्छन् भन्ने जनतामा विश्वास छ । स्थानीय सीप, साधन र स्रोतको उपयोग गरेर समृद्ध गलकोटको अभियानमा जनताको सहयोग माग्छु सम्भव भएसम्मको काम गर्ने प्रयास गर्छु ।

० गलकोटवासीलाई केही भन्नुछ ?
– मलाई जुन आशा, भरोसा र विश्वासले उपमेयर पदमा जिताउनुभयो, धन्यवाद । यो जित परिवर्तन र समृद्ध गलकोटका लागि हो । उहाँहरूको आशालाई म तुषारापात हुन दिने छैन । म कुराभन्दा काममा विश्वास राख्ने भएकाले गलकोटवासीको चाहनामा ठेस पुग्ने काम गर्दिनँ ।

० विवाह गर्नुभयो ?
– यस्ता निजी कुरा नसोध्दा राम्रो हुन्छ, किनभने सकारात्मक सोचले यो प्रश्न गर्नुभएको भए पनि नकारात्मक अर्थ लगाउने हाम्रो समाजमा धेरै छन् । समाजमा मैले जुन राजनीतिक हैसियत बनाएको छु, त्यो मेरो अनुशासन, इमान्दारिता र क्षमताले हो । मेरो अनुशासन र इमान्दारितामा घुन पुतली लाग्न दिन्न ।

० जुन प्रोफाइल बन्दैछ, त्यसका लागि योग्य बर पाउन मुस्किल होला नि ?
– विवाह कसैको इच्छामा निर्भर रहँदैन, विवाह एउटा संयोग हो । त्यसैले यस विषयमा मेरो कुनै टिप्पणी छैन । महिला आर्थिक रूपले सक्षम भएपछि विवाह गर्दा राम्रो हो ।

० सृष्टिलाई निरन्तरता दिन पनि विवाह आवश्यक होइन र ?
– व्यक्तिगत इच्छाका बारेमा जबर्जस्ती बोल्न नलगाउँदा राम्रो होला ।