६ चैत्र २०८०, मंगलवार
Follow Us

चार दिन बित्दा पनि मतगणना अन्योलमा

नेपालब्रिटेन डट कम्
९ जेष्ठ २०७४, मंगलवार १२:२४

भक्तपुर । चार दिनदेखि स्थगित चाँगुनारायण नगरपालिकाको मतगणना पुनःसञ्चालन गर्न आज बसेको सर्वपक्षीय बैठकबिना निष्कर्षमा टुङ्गिएपछि चाँगुनारायण नगरपालिकाको मतगणना अझै अन्योलमा छ । निर्वाचन अधिकृतको कार्यालय चाँगुनारायणका अनुसार निर्वाचन आयोगले पठाएको निर्देशनानुसार मतगणना प्रक्रिया पुनःसञ्चालन गर्नका लागि आज बसेको सर्वपक्षीय बैठकमा सहमति हुन नसकेपछि अझै मतगणना सुरु हुन नसकेको हो ।

प्रमुख निर्वाचन अधिकृत भोजराज शर्मा, प्रअिज द्रोण पोखरेल, सबै दलका उम्मेदवार र राजनीतिक दलका प्रतिनिधिको उपस्थितिमा आज चार घन्टा लामो छलफल भए पनि सहमति नभएको कार्यालयले जनाएको छ । गत शुक्रबार वडा नं ४ को मतगणना सम्पन्न गरी मत परिणाम सार्वजनिक गर्ने तयारी गर्दा कर्मचारीले मतगणना पारदर्शी नभएको र नेकपा(एमाले) को उम्मेदवारलाई मत थप गरेर जोडेको भन्दै एमालेबाहेकका अन्य दलले विरोध गरेपछि मतगणना रोकिएको थियो ।

निर्वाचन आयोगले सोमबार साँझ वडा नं १ र २ का हकमा पुन मतगणना हुन नसक्ने तर ३ र ४ का हकमा भने दलको सहमतिमा पुनःमतगणना गर्न सकिने भन्दै पत्र पठाएपछि आज बसेको बैठकमा दलबीच सहमति हुन नसकेको हो ।

आजको बैठकमा पनि एमालेबाहेकका दलले वडा नं ३ र ४ को मतगणना पुनः गर्नुपर्ने पुरानै मागमा अडान लिएको र एमालेले पुनः मतगणना गर्दा वडा नं १ देखि नै गर्नुपर्ने नत्र ३ र ४ मात्रै गन्न नदिने अडान लिएपछि चार घन्टा लामो छलफल निष्कर्षमा नपुगेको दलका प्रतिनिधिले जानकारी दिएका छन् । प्रजिअ द्रोण पोखरेलले दलबीच सहमतिको प्रयास जारी रहेको र आजै पनि पुन : छलफल हुन सक्ने बताउनुभयो ।