६ चैत्र २०८०, मंगलवार
Follow Us

प्रचण्डको सुरक्षाकवच ओली, प्रधानमन्त्रीको राजीनामा अनिश्चित

नेपालब्रिटेन डट कम्
९ जेष्ठ २०७४, मंगलवार १३:२६

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले तत्काल राजीनामा दिन नहुने अडान प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा लिएका छन् । बानेश्वरको इन्द्रणी कम्प्लेक्समा पत्रकार सम्मेलनको आयोजना गरेर नेकपा एमाले अध्यक्ष ओलीले तत्काल प्रधानमन्त्री दाहालले तत्काल राजीनामा दिन नहुने बताएका हुन् । एमालेले संसद अवरुद्ध गरेकाले प्रधानमन्त्री दाहालको राजीनामा आज मंगलबारका लागि लगभग टरेको छ ।
सोमबार मन्त्रिपरिषद्ले स्थानीय तहको संख्या थप गर्ने निर्णय फिर्ता नलिएसम्म संसद चल्न नदिने स्पष्ट पार्दै अध्यक्ष ओलीले कांगे्रस सभापति शेरबहादुर देउवामाथि सत्ता लोलुपको आरोपसमेत लगाए । स्थानीय तहको संख्या थप्ने मन्त्रिपरिषद्को निर्णय फिर्ता नलिएसम्म एमालेले संसद चल्न नदिने स्पष्ट पारेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले सरकारबाट राजीनामा दिने निर्णय गरेको थियो । बैठक अन्त्यपछि सामूहिक तस्बिर खिचाइसकेका प्रधानमन्त्री दाहालले आज संसदलाई सम्बोधन गरेर राजीनामा बुझाउने कार्यक्रम थियो ।
सत्तारुढ दल माओवादी र कांगे्रसले भने एमालेलाई मनाउने प्रयास गरिरहेका छन् । तर एमालेले कांगे्रस र माओवादीसँग वार्ता गर्न दोस्रो तहको नेता पठाएको छ । माओवादी अध्यक्ष दाहाल र कांगे्रस सभापति देउवासँग वार्ता गर्न एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङलाई पठाएको छ ।
संसद तीन पटक सरिसक्यो, तर एमाले आफनो अडानबाट टसको महस भएको छैन । जर्बजस्ती संसदको बैठक बोलाए हातपातमा उत्रने चेतावनी एमालेले दिएकाले सहमतिमा समाधान खोज्ने प्रयास सत्तारुढ दलले गरिरहेको छ । ५ बजेका लागि तेस्रो पटक सारिएको संसद बैठक समयसीमाको दुई घन्टाभित्र बसेन भने स्वत स्थगित हुने व्यवस्था छ ।
सम्भवतः संसदको बैठक बसेन भने प्रधानमन्त्रीको राजीनामा आउने छैन । भोलिका दिनमा राजनीतिले कुन आयाम लिने हो कसैले भन्न सक्ने अवस्था छैन ।
– सुनयना राउत