१५ बैशाख २०८१, शनिबार
Follow Us

तिथि, मिति र सम्भावनाको विकल्प नखोज्न निर्वाचन आयोगको आग्रह

नेपालब्रिटेन डट कम्
१० जेष्ठ २०७४, बुधबार १५:०१

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन कार्यक्रम राजपत्रमा प्रकाशित गरिसकेको परिप्रेक्षमा अब दोस्रो चरणको निर्वाचनको तिथि, मिति र सम्भावनाको विकल्प नखोजी जेठ ३१ गते नै निर्वाचन सम्पन्न गर्न आवश्यक सहयोग पु-याउन सरकारलाई सुझाव दिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवसहित निर्वाचन आयोगका पदाधिकारीले उक्त सुझाव दिनुभएको हो ।

सो अवसरमा प्रधानमन्त्री दाहालले निर्वाचनका लागि राजनीतिक सहमति खोज्ने प्रयास भएको हुँदा स्थानीय तहको दोस्रो चरणको निर्वाचनका उपाय र विकल्पबारे सुझाव दिन आयोगका पदाधिकारीसँग आग्रह गर्नुभएको थियो ।

सो अवसरमा प्रमुख निर्वाचन आयुक्त डा यादवले जेठ ३१ गते सम्पन्न हुने प्रदेश नं १, २, ५ र ७ का ४६१ स्थानीय तहको निर्वाचनको सम्पूर्ण तयारी पूरा गरी सम्पूर्ण निर्वाचन सामग्री जिल्लामा पु-याइसकिएको, जेठ ६ गतेदेखि सबै जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय सञ्चालन भइरहेको जानकारी गराउनुभएको थियो ।

निर्वाचन अधिकृतलाई जेठ १५ गते निर्वाचन अधिकृतको कार्यालय खोल्न निर्देशन दिइसकिएको स्पष्ट गराउँदै आयोगले जेठ ३१ गते दोस्रो चरणको निर्वाचन सम्पन्न गर्न आयोग तयार रहेको जानकारी गराएको प्रवक्ता सूर्यप्रसाद शर्माले बताउनुभयो ।

दोस्रो चरणको निर्वाचन जेठ ३१ गते गर्न सरकारबाट आएको अनुरोधलाई आयोगले स्वीकार गरी तयारी अन्तिम चरणमा पु-याइसेको बताउँदै आयोग पदाधिकारीले जेठ १९ गते उम्मेदवारको मनोनयन दर्ता हुनेगरी निर्वाचन कार्यक्रम घोषणा भइसकेको अवगत गराउनुभएको थियो ।

भेटमा उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधि, पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ तथा पूर्वरक्षामन्त्री रामबहादुर थापा तथा आयुक्तहरु इला शर्मा, नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौड्याल, सुधीरकुमार शाह तथा आयोगका सचिव गोपीनाथ मैनाली सहभागी हुनुहुन्थ्यो ।