१३ बैशाख २०८१, बिहीबार
Follow Us

म्यानचेष्टर बम हमलाका तस्वीर र खबर प्रकाशन गरेकोमा बेलायत प्रहरीको आपत्ति

नेपालब्रिटेन डट कम्
११ जेष्ठ २०७४, बिहीबार ०९:०५

लन्डन । बेलायत प्रहरीले अमेरिकी अखबार ‘द न्यूयोर्क टाइम्स’ले म्यानचेष्टरमा भएको बम हमलाका तस्वीर र खबर प्रकाशन गरेकोमा आपत्ति जनाएको छ । सो घटनाका सूचना सार्वजनिक हुनुले अनुसन्धानमा असर परेको र आफ्नो देशसँगको अमेरिकी गुप्तचर निकायको साझेदारीमा पनि संकट बढेको बेलायती अधिकारीले बताएका हुन् ।
‘द न्यूयोर्क टाइम्स’ले प्रकाशित गरेको तस्वीरमा रगतको टाटा बसेका बमका टुक्रा, ब्याट्री, काँटीहरु र विस्फोट गराउन प्रयोग गरिने एउटा सम्भावित उपकरण देखिएको छ । ग्रेटर म्यानचेष्टरका मेयर एण्डी बर्नहामले सूचना चुहावटबारे आफूले अमेरिकी राजदूतसमक्ष कुरा उठाएको जनाएका छन् ।
त्यसअघि बेलायतका गृहमन्त्री एम्बर रडले बम हमलाकारी सलमान अबेदीबारेको सूचना अमेरिकाले बाहिर ल्याइदिएको भन्दै आक्रोश व्यक्त गरेकी थिइन ।
बिहीबार नेटो सम्मेलनका क्रममा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग हुने भेटमा बेलायती प्रधानमन्त्री टेरिजा मेले यसबारे कुरा उठाउने अपेक्षा गरिएको छ ।
यसैबीच, आत्माघाती बम हमलाकारी सलमान अबेदीका पिता र भाइलाई लिबियामा हिरासतमा लिइएको छ । घटनापछि बेलयातमै संदिग्ध सात जनालाई नियन्त्रणमा लिइएको छ ।