७ बैशाख २०८१, शुक्रबार
Follow Us

राष्ट्रिय जनता पार्टी (राजपा) निर्वाचन बहिस्कारको पक्षमा

नेपालब्रिटेन डट कम्
११ जेष्ठ २०७४, बिहीबार १४:५९

काठमाडौं । निर्वाचनमा भाग लिने/नलिने विषयमा राष्ट्रिय जनता पार्टी अझै निर्णयमा पुग्न सकेको छैन । काठमाडौंमा केही दिनदेखि जारी पार्टीको अध्यक्ष मण्डलको बैठकमा निर्वाचन उपयोग गर्ने/नगर्ने विषयमा छलफल जारी रहेपनि विपरित धारका कारण राजपालाई निर्णयमा पुग्न कठिन भएको हो ।
महन्थ ठाकुरसहितका नेता केही माग सम्बोधन भएकाले निर्वाचनमा जान सकिने धारणामा छन् । तर, राजकिशोर यादव, अनिल झालगायत भने चुनावमा जाने अवस्था नरहेको भन्दै बहिस्कार गर्नुपर्ने पक्षमा ‘लविङ’ गरिरहेका छन् ।
मतान्तर रहे पनि एक/दुई दिनमै ठोश निर्णयमा पुगिने राजपाले जनाएको छ । निर्वाचन सहभागिताबारे छलफल गरिरहेको राजपाले मधेसको माग सम्बोधन गर्न आन्दोलनलाई जोड दिएर अघि बढ्ने तयारी पनि सँगसँगै गरिरहेको छ । स्थानीय तहबाट आन्दोलनको माग भइरहेको भन्दै केही नेता निर्वाचनको विपक्षमा छन् । आजको बैठकले अब बन्ने सरकारमा आफ्नो पार्टी सहभागी नहुने स्पष्ट पारेको छ । सरकारमा जाने सोचसमेत बनाउने परिस्थिति नरहेको नेताहरुले जानकारी दिए ।

छाता पाए राजपा चुनावमा जाने
यता, राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक फोरमका अध्यक्ष विजय गच्छदारसँग छलफल गरेका छन् । दोस्रो चरणको चुनाव नजिकिँदै जाँदा राजपा अध्यक्ष ठाकुरले यादव र गच्छदारलाई सानोथिमीस्थित आफ्नै निवासमा बोलाएर छलफल गरेका हुन् । यो भेटमा तीन नेता मात्र सहभागी थिए । ठाकुरले निर्वाचन आयोगले पार्टी दर्ता गरेर चुनाव चिन्ह दिए आफूहरु चुनावमा जान तयार रहेको बताएका छन् । ‘हामी चुनाव विरोधी होइनौं । तर, न पार्टी दर्ता छ, न हामीले चुनाव चिन्ह पाएका छौं अनि चुनावमा कसरी जाने ?’ त्रिपक्षीय छलफलमा ठाकुरले भनेका छन् । उनीहरुले छाता चुनाव चिह्न मागेका छन् ।