१६ चैत्र २०८०, शुक्रबार
Follow Us

३१ जेठ अगाडि नयाँ सरकार गठन जटिल

नेपालब्रिटेन डट कम्
१२ जेष्ठ २०७४, शुक्रबार ०७:२४

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतिको सरकार गठनका लागि आह्वान गरे पनि ३१ जेठ अगाडि नयाँ सरकार चयन जटिल देखिएको छ । प्रक्रियातागत रूपमा अगाडि बढ्दा कम्तीमा १० दिन समय आवश्यक पर्नेमा प्रतिपक्षी दल एमालेले संसद् अवरोध जारी राखेकाले प्रधानमन्त्री चयन प्रक्रिया प्रभावित हुने सम्भावना बढेको हो ।
राष्ट्रपतिले सहमतिको सरकार गठनका लागि दिएको समयमा सरकार नबनेको अवस्थामा दलहरूको आग्रहमा उनले पुनः सहमतिको सरकार गठनकै लागि क्रमशः पाँच र तीनदिन समय थप गर्न सक्नेछिन् । विगतमा सहमतिका लागि पुनः समय थप गरेको अभ्यास छ भने आह्वानअनुसार सहमतीय सरकार बन्ने सम्भावना क्षीण छ । राष्ट्रपतिले सहमति नजुटेको खण्डमा सिधै बहुमतको प्रक्रिया थाल्न आह्वान गरे पनि २१ गते प्रधानमन्त्री चयनका लागि निर्वाचन हुने सम्भावना छ ।
तर, एमालेले आफ्ना माग पूरा नभएको भन्दै सदन अवरोध जारी राखेमा प्रधानमन्त्री चयनको प्रक्रिया पछाडि धकेलिनेछ । एमालेले सरकारले आफ्ना माग पूरा नगरेसम्म सदन चल्न नदिने एवं नीति तथा कार्यक्रम र बजेटसमेत प्रभावित हुन सक्ने चेतावनी दिएको छ । सरकारले स्थानीय तह थप गर्ने निर्णय फिर्ता लिएमा भने प्रक्रिया अघि बढाउन दिने एमालेका नेताहरू बताउँछन् ।