१३ बैशाख २०८१, बिहीबार
Follow Us

राजपालाई मनाउन सानेपामा छलफल

नेपालब्रिटेन डट कम्
१३ जेष्ठ २०७४, शनिबार ०५:३२

काठमाडौं । जेठ ३१ को निर्वाचन बिथोल्ने घोषणा गरेको राष्ट्रिय जनता पार्टी (राजपा) लाई मनाउन नेपाली कांगे्रसले छलफल सुरु गरेको छ । पार्टी कार्यालयमा राजपा नेताहरुलाई बोलाएर कांग्रेसले छलफल सुरु थालेको हो । बिहान ९ बजेका लागि बैठक बोलाइए पनि एक घण्टा ढिलो गरी सुरु भएको हो ।
विभिन्न माग राखी आन्दोलनरत राजपा नेपालका माग सम्बोधन गर्ने क्रममा सरकारले केही दिनअघिमात्र २२ स्थानीय तह थप गर्नेसहित स्थानीय तहको सीमाङ्कन फेरबदल गरेको थियो । जुन निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वाच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।

काँग्रेसले प्रदेश नं १ र ७ का अधिकांश उम्मेदवार टुङ्ग्यायो
नेपाली काँग्रेसले यही जेठ ३१ गते हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि प्रदेश नं १ र ७ का अधिकांश जिल्लामा पार्टीका उम्मेदवारको टुङ्गो लगाएको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा हिजो दिनभर बसेको पार्टीका पदाधिकारी, पूर्वपदाधिकारी एवम् प्रभावशाली केन्द्रीय सदस्यसहितको बैठकले प्रदेश नं १ र ७ मा केही जिल्लाबाहेक पार्टीका उम्मेदवार तय गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । बाँकी रहेका जिल्ला एवम् प्रदेश नं २ र ५ मा पार्टीका उम्मेदवारको टुङ्गो लगाउन बैठक आज शनिबार बस्नेछ ।
काँग्रेसले निर्वाचनका लागि क्षेत्रीय कार्यसमितिलाई क्षेत्रअन्तर्गतका नगरपालिका र गाउँपालिकाका उम्मेदवार टुङ्ग्याउने अधिकार दिएको छ । क्षेत्रले उम्मेदवार चयन गर्न नसकेमा जिल्ला कार्यसमितिले गर्ने र जिल्ला समितिले पनि नसकेमा केन्द्रीय कार्यसमितिमा आउने व्यवस्था गरेको छ ।
केन्द्रीय समितिमा आएका विषयमा पार्टीका पदाधिकारी, पूर्व पदाधिकारी र प्रभावशाली केन्द्रीय सदस्यको समूहले निर्णय गर्ने गरेको छ । बैठकमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशाङ्क कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलालगायत पार्टीका प्रभावशाली केन्द्रीय सदस्यको उपस्थिति थियो ।