१४ बैशाख २०८१, शुक्रबार
Follow Us

नीति तथा कार्यक्रम माथिको छलफल सुरु

नेपालब्रिटेन डट कम्
१३ जेष्ठ २०७४, शनिबार १५:१८

काठमाडौं । ब्यवस्थापिका संसदको गतिरोध अन्त्य भएको छ । सत्तारुढ दलहरुले प्रधानन्यायाधीश सुशीला कार्की बिरुद्धको महाअभियोग प्रस्ताव फिर्ता लिने र निर्वाचनमा भएको भनिएको धाँधलीबारे छानविन गर्न संसदीय समिति गठन गर्ने प्रतिबद्धता जनाएपछि प्रमुख प्रतिपक्षी एमाले संसदको गतिरोध अन्त्य गर्न सहमत भएको हो ।
गतिरोध अन्त्य भएसँगै शनिवारवाट ब्यवस्थापिका संसदमा सरकारको बार्षिक नीति तथा कार्यक्रम माथिको छलफल सुरु भएको छ । सत्तारुढ दलका सांसदहरुले निर्वाचन आचारसंहिताका बीच सरकारले ल्याएको नीति तथा कार्यक्रम उत्कृष्ट भएको दाबी गरेका छन् ।
आजको संसद बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिदै सत्तारुढ दलका सांसदहरुले नीति तथा कार्यक्रम संविधान कार्यान्वयनमा केन्द्रित भएको बताएका हुन । विपक्षि एमालेका सांसदहरुले भने सरकारले ल्याएको कार्यक्रममाथि थप टिप्पणी गर्न आवश्यक नरहेको बताएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दहालले भोली नै छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने संसद सचिवालयले जनाएको छ । दिउँसो बसेको पहिलो बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीलाई धन्यवाद ज्ञापनको प्रस्ताव पारित गरेको थियो । राष्ट्रपति भण्डारीले गत बिहीवार सरकारको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गरेकी थिइन् ।