७ बैशाख २०८१, शुक्रबार
Follow Us

सानेपामा उपमेयर हरिप्रभाको आशु

नेपालब्रिटेन डट कम्
१४ जेष्ठ २०७४, आईतवार १५:४४

काठमाडौं । काठमाडौं महानगरपालिकामा उपमेयर हरिप्रभा खड्कीले जितेकी छन् । २०६४ र २०७० सालमा सम्पन्न संविधानसभाका दुवै निर्वाचनमा समानुपातिकतर्फबाट सिफारिस भए पनि सभासद हुने मौका नपाएकी खड्गी अन्नतः प्रतिस्पर्धीलाई २४ हजार भन्दा बढी मतले पाखा लगाएर काठमाडौं महानगरपालिकाको उपप्रमुख चुनिएकी हुन् ।
नेपाली कांगे्रसले माओवादीसँग तालमेल गरेपछि हरिप्रभालाई पनि उपमेयरबाट मनोनय फिर्ता लिन पार्टी कार्यालयमा बोलाइएको थियो । काठमाडौं महानगरमा एमालेले राप्रपासँग तालमेल गरेपछि कांग्रेसले पनि माओवादीसँग सहकार्य गर्ने निर्णय गरेको थियो । कांगे्रसले भरतपुरमा मेयर माओवादी केन्द्रलाई दिने र उपमेयरमा कांगे्रसले लिने तथा पोखरा र काठमाडौंमा माओवादीले कांगे्रसलाई मेयरमा सहयोग गर्ने र उपमेयरमा माओवादीलाई मतदान गर्ने पार्टी कार्यालय सानेपामा पदाधिकारी बैठकले निर्णय ग¥यो ।
भरतपुर महानगरमा कांगे्रसले मेयर बनाएको दिनेश कोइरालाको उम्मेदवारी फिर्ता लिएको पत्र तयार पार्दै गर्दा पार्टी कार्यालयका कर्मचारीले हरिप्रभालाई पनि फोन गरेर पार्टी कार्यालय बोलाएका थिए । हरिप्रभा हतारिएर पार्टी कार्यालय सानेपा पुगिन । उनलाई पार्टी सभापति शेरबहादुर देउवाले आफ्नो कार्यकक्षमा बोलाएर उपमेयरबाट मनोनय झिक्नु पर्ने हुनसक्छ भनेका थिए । सभापतिज्यू म चुनाव जित्छु भनेर मनोनय झिक्नु हुँदैन भनेर सभापति देउवाले सम्झाउने प्रयास गरेकी थिइन् । भरतपुर र पोखराका लागि तालमेलको निर्णय भइसक्यो, काठमाडौंका लागि पनि माओवादी केन्द्रले दबाब दिइरहेको छ । सभापति देउवाले काठमाडौंको अहिले निर्णय भइसकेको छैन, निर्णय भइहाल्यो भने पार्टीको निर्णय मान्नुपर्छ है हरिप्रभा भनेका थिए । देउवाले त्यत्ति भन्दा आँखाभरि आँशु पारेर सभापति देउवाको कोठाबाट बाहिरिएकी थिइन् । यता माओवादीका तर्फबाट मेयर पदमा सर्वोत्तम डंगोलले उम्मेदवारी फिर्ता नलिएपछि हरिप्रभाले पनि उपमेयरबाट उम्मेदवारी फिर्ता लिनु परेन ।

को हुन् हरिप्रभा
नेपाली कांग्रेसकातर्फबाट काठमाडौं महानगरको उपप्रमुख निर्वाचित हरिप्रभा खड्गी बागबजारकी स्थायी बासिन्दा हुन् । २०२४ मा भक्तपुरमा जन्मिएर २०४३ सालमा बागबजारका प्रकाश खड्गीसँग वैवाहिक सम्बन्ध जोडेकी हरिप्रभा २०४२ सालमा नेपाल ल क्याम्पसमा नेविसंघमा संगठित भएकी थिइन ।
विवाहपछि सोचेअनुसार पढाइ अगाडि बढाउन नसकेपनि यिनीको राजनीतिक उचाइ भने बढ्दै गयो । पद्यकन्या क्याम्पसबाट आईए उत्तीर्ण यिनीले नेपाल महिना संघको वडा कमिटीबाट राजनीतिक यात्रा सुरु गरेकी थिइन् । इकाइ, क्षेत्र, जिल्ला हुँदै केन्द्रीय राजनीतिमा आएकी खड्गी नेपाल महिला संघको ०६४ र ०६९ सालमा दुई कार्यकाल केन्द्रीय सदस्य थिइन् ।
– सुनयना राउत