७ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएनए नेतृत्वको लागि निर्वाचन समिति गठन

नेपालब्रिटेन डट कम्
१४ जेष्ठ २०७४, आईतवार २०:५३

लण्डन । गैरआवासीय नेपाली संघको अगामी अक्टोवर १४ देखी १८ सम्म काठमाण्डौंमा हुने महाधिवेसनका लागि निर्वाचन समिति गठन गरिएको छ । गैरआवासीय नेपाली संघको आइतवार सम्पन्न बैठकले ३ सदस्सीय निर्वाचन समिति गठन गरेको हो । संघका महासचिव डा. बद्री केसीका अनुसार सो समितिको संयोजक शिव रिजाल तोकिएका छन् । अन्य सदस्यहरुमा केपी पाण्डे र नेपाल उद्योग बाणिज्य महासंघको निर्देशक छन् । निर्वाचन समितिमा अवश्यक अनुसार थप ४ जना पछि थपिने जनाकारी केसीले दिए।

बैठकले मध्यपूर्व, मलेसिया र अफ्रिका क्षेत्रको साधारणसभा शुल्कमा छुट दिने निर्णय गरेको छ । बैठकले एनआरएन भवनका लागि सो क्षेत्रबाट सदस्यता शुल्क वापत १० डलर संकलन गर्ने यसअघि भएको निर्णयलाई परिर्माजन गर्दै प्रति साधारण सदस्य शुल्क ५ डलर मात्र कायम गरेको छ ।
संघका अध्यक्ष शेष घलेको अध्यक्षतामा बसेको बैठकमा गैरआवासीय नेपाली संघको भवन निमार्ण, र्लाप्राक परियोजना, क्षेत्रिय सम्मेलन लगायतका विभिन्न अजेन्डामा छलफल भएको थियो ।

सो महाधिवेसनले नयाँ नेतृत्वको समेत चयन गर्नेछ । संघको नेतृत्वको लागि अहिलेको उपाध्यक्षद्वय कुमार पन्त र भवन भट्ट अगाडि देखिएका छन् । दुबै उम्मेदवारलाई संघको अगामी अध्यक्षको रुपमा हेरिएको छ ।

संघको अन्य पद मध्य उपाध्यक्ष पदका लागि चर्चामा रहेका डा. बद्री केसी, सोनाम लामा, त्रिलोक गुरुङ, खगेन्द्र जिसीमध्यको समूहले कुमार पन्तलाई सघाउने प्रायः निश्चित छ । कोषाध्यक्षमा सपिला राजभण्डारी र उपाध्यक्षमा रन्जु थापाको नाम चर्चामा छ ।

महासचिव पदमा कोषाध्यक्ष हिक्मत थापा र सचिव अर्जुन श्रेष्ठले दाबी गरेका छन् । संघको पदाधिकारी पद लिन गैरआवासीय नेपाली संघ यूरोप संयोजक कुल आचार्य, गैरआवासीय नेपाली संघ अमेरिकाका अध्यक्ष डा. केशव पौडेल, एसी शेर्पा, गणेश केसी, डिबी क्षेत्री, नरेन्द्र भाट, महेन्द्र लम्साल, कृष्ण पाण्डे, धरम केसी, चिरञ्जीबी थापा, किरणविक्रम थापाको तयारी छ ।

विधानमा भएको व्यवस्थाअनुरुप यतिबेला संघको विश्वभरि छरिएका ७४ राष्ट्रिय समिति (एनसीसी) मा चुनावी चटारो छ । विधानतः प्रत्येक राष्ट्रिय समितिले अक्टोवर १५ भित्र राष्ट्रिय समितिको निर्वाचनसहित केन्द्रीय प्रतिनिधि (अन्तर्राष्ट्रिय समन्वयन समिति, आइसीसी) चयन गरिसक्नु पर्नेछ । समयसीमाभित्र अधिवेशन नगर्ने राष्ट्रिय समितिले विश्व सम्मेलनमा भाग लिन पाउने छैनन् । राष्ट्रिय समिति निर्वाचन सुरुवातसँगै संघको आगामी नेतृत्व लिन भित्रभित्रै रस्कारस्की चलेको चर्चा छ ।