८ बैशाख २०८१, शनिबार
Follow Us

काँग्रेसद्वारा भरतपुर-१९ मा पुनः मतदान गर्न माग

नेपालब्रिटेन डट कम्
१५ जेष्ठ २०७४, सोमबार ११:०१

चितवन । नेपाली काँग्रेस चितवन शाखाले भरतपुर महानगरपालिका वडा नं १९ मा मतपत्र गणनाको क्रममा च्यातिएका मतपत्रका सम्बन्धमा पुनः मतदान गर्न माग गरेको छ । काँग्रेसको चितवनको बैठकपछि आज एक विज्ञप्ति जारी गर्दै नेपाली काँग्रेसले निर्वाचन ऐन, २०७३ को दफा ४९ र ५० बमोजिम पुनः मतदानको माग गरेको जिल्ला सभापति जितनारायण श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।
राति मतगणना भइरहेको अवस्थामा भएको घटनाको खेद व्यक्त गर्दै सो पार्टीले घटनाबारे छानबिन गर्न र दोषीमाथि कारबाही गर्न समेत माग गरेको छ । पटक पटक मतगणना व्यवस्थित गर्न माग गर्दा व्यवस्थित चासो नदेखाएकाले उक्त घटना भएको काँग्रेसको निष्कर्ष छ ।
विज्ञप्तिमा भनिएको छ– ‘वडा नं १९ को मतपरिणामलाई असर गर्ने गरी मतपत्र च्यातिएको हुँदा स्थानीयतह निर्वाचन ऐन, २०७३ को दफा ४९ र ५० बमोजिम पुनः मतदान गर्नसमेत जोडदार माग गर्दर्छौं ।’
गएराति ११:४४ बजे भरतपुर महानगरको मतगणनास्थलमा मतपत्र च्यातिएपछि अहिले मतगणना स्थगित भएको छ । महानगरका २९ वटा वडामध्ये २७ वटा वडाको मतगणना भइसकेको छ । वडा नं १९ को मतगणना हुँदाहुँदै मतपत्र च्यातिएको थियो भने २० नंको मतगणना गर्न बाँकी छ ।