१६ चैत्र २०८०, शुक्रबार
Follow Us

लाप्राकबासी र एनआरएन बीच जुवारी, घर बन्नेमा आसंका

नेपालब्रिटेन डट कम्
१२ श्रावण २०७३, बुधबार १०:२०

main_1500लाप्राकबाट बिस्थापित भई बसोबास गर्न आएका भुकम्प पीडितको गुप्सीपाखाको बस्ती
गोरखाः भुकम्पपछि बिस्थापित भएर गुप्सीपाखाको टहरोमा बसिरहेका गोरखा लाप्राकका बासिन्दा घर पाउने कि अनुदान रकम पाउने भन्ने बारे अझै अन्यौलमै छन् ।

गैरआबासीय नेपाली संघ(एनआरएन)ले घर बनाइदिने आश्वासन दिइरहेको छ भने पुनर्निर्माण प्राधिकरण(एनआरए)ले घर बनाउने अनुमति नदिएकाले अनुदान रकम नै उपलब्ध गराउने दाबी गर्दै आएको छ । एनआरएन र एनआरएको छुट्टाछुट्टै दाबीले १५ महिनादेखि गुप्सीपाखाको टहरोमा बस्दै आएकाहरु भुकम्प पीडितहरु अन्यौलमा परेका हुन् ।

एनआरएनका अध्यक्ष शेष घलेसमेत विज्ञहरुका साथ पटक पटक गुप्सीपाखा पुगेर नमूना बस्ती विकासका लागि अध्ययन गरेका छन् । गत बैशाख १२ गते राष्ट्रपति विद्यादेवी भण्डारीको रोहोबरमा पनि एनआरएनले लाप्राकीलाई घर बनाइदिने आश्वासन दिएका थिए । तर पुननिर्माण प्राधिकरणले हालै गोरखाका स्थानीय विकास अधिकारीलाई लाप्राकमा अनुदान सम्झौता गर्न कर्मचारी पठाउन निर्देशन दिएपछि अन्यौलता बढेको हो ।
‘यदि रकम नै दिनु थियो भने पहिल्यै भनेको भए हामीले सम्झौता गरिसक्थ्यौं । यतिबेला लाप्राकीले घर बनाउने पैसा पाइसक्थे’ स्थानीय विकास अधिकारी नारायणप्रसाद आचार्यले भने ‘पहिले राष्ट्रपतिलाई समेत रोहोबरमा राखेर लाप्राकमा ६१६ वटा घर बनाई नमूना बस्ती बनाउने भनियो । अहिले सबै गाविसमा अनुदान सम्झौता गरिसकेपछि, पैसा समेत बाँडिसकेपछि लाप्राकमा पनि सम्झौता गराउनू भन्ने निर्देशन आयो । केही दिनमा कर्मचारी खटाएर अनुदान सम्झौता गराउने उनले बताए ।
लाप्राक पुनर्निर्माण सम्बन्धी प्रक्रियामा सक्रिय रहेका एनआरएनका सल्लाहकार गणेशमान गुरुङले भने लाप्राकलाई आफूहरुले नमूना बस्ती बनाउने दाबी गरेका छन् । ‘लाप्राकलाई हामीले नमूना गाउँ बनाउने भन्ने सम्झौता नै भइसकेको छ’ उनले भने ‘अनुदान रकम दिने होइन । पैसा दिने भए हामी पहिल्यै दिइसक्थ्यौं । त्यो पनि किस्तामा होइन, हामी सबै रकम एकैचोटी दिइसक्थ्यौं । तर भ्रममा नपर्नू, हामीले घर नै बनाइदिने हो ।’ आफूहरु घर बनाइदिने भनेर ढुक्कले तयारी गरिरहेको उनले बताए ।
– शिवप्रसाद उप्रेती