१५ चैत्र २०८०, बिहीबार
Follow Us

गोर्खा कपमा उत्साहजनक उपस्थिती, मंगोलियन भान्जाले जित्यो मुख्य कप

नेपालब्रिटेन डट कम्
१५ जेष्ठ २०७४, सोमबार १९:४४

बेलायतका नेपालीहरुबीच लोकप्रिय रहेको ‘गोर्खा कप’ फुटबल प्रतियोगिताको १५ औँ सँस्करण लण्डनको अल्डरसटस्थित क्विन्स एभेन्यू मैदानमा आइतबार सम्पन्न भएको छ। प्रतियोगिताको उपाधि ब्रिगेड बोइजलाई हराउँदै मंगोलियन भान्जाले हात पारेको छ।
नेपाली समुदायलाई एकीकृत गर्ने उद्देश्यले तमुधिँ यूकेले सन् २००१ मा सुरु गरेको गोर्खा कपमा यस पटक टोटनम क्लबका पूर्व कप्तान लेडली किङ्ग र नेपाली टोलीका प्रशिक्षक राजु शाक्यको उपस्थितिले सबैलाई खुसी तुल्याएको थियो।
किङ्गलाई गुल्मेली पञ्चे बाजा को धुन बजाएर स्वागत गरिएको थियो। उनले प्रतियोगितामा आउन पाउँदा आफू ज्यादै उत्साहित भएको बताए र भविष्यमा नेपाल यात्रा गर्ने इच्छा पनि व्यक्त गरे।
यस्तै नेपाली फुटबल टोलीका पूर्व राष्ट्रिय कप्तान तथा वर्तमान प्रशिक्षक राजु शाक्य प्रतियोगिताकै लागि भनेर नेपालबाट आएका थिए। उनी सबैको आकर्षणको केन्द्र बनेका थिए।
यसपटक गोर्खा कप हेर्न करिब १० हजार दर्शकहरुको उपस्थिति रहेको थियो। प्रतियोगिता स्थलवरपर मन लोभ्याउने स्वदिष्ट नेपाली परिकारका स्टल राखिएका थिए भने विभिन्न नेपाली समानका स्टलहरुमा पनि मानिसको घुइँचो दिनभर नै रह्यो। प्रतियोगिताका सम्पन्न गर्न करिब ४० हजार पाउण्ड खर्च भएको आयोजकहरुले बताएका छन्।
४० वटा टोलीले भाग लिएको सो प्रतियोगितामा यसपटक हङकङ र बेल्जियमबाट पनि खेलाडी सहभागी थिए। गोर्खा कप उचाल्न मंगोलियन भान्जाले ब्रिगेड ब्वाइजलाई टाइब्रेकरमा ५–३ ले हरायो।1

यस्तै ४० वर्ष कटेकाहरुको भेटेरान कपको उपाधि भने केन्ट एफसीले इलाम एफसीलाई २–१ ले हराउँदै जित्यो।
कार्यक्रमका आयोजक तमुधिँ यूकेका अध्यक्ष ज्ञाम गुरुङले गोर्खा कप फुटबल प्रतियोगिता बेलायतमा भएका नेपालीहरुबीच आपसी सौहाद्रता र सद्भाव सृजना गराउने उद्देश्यले शुरु गरेको बताए।
‘अब केही वर्षमै गोर्खा कपलाई अन्तर्राष्ट्रिय प्रतियोगिता बनाउने हाम्रो लक्ष्य छ,’ उनले भने।
कार्यक्रमका प्रमुख अतिथि रसमोर बरो काउन्सिलकी मेयर सोफिया चौधरीले नेपालीहरु खेलको माध्यमबाट एकीकृत भएकोमा खुसी व्यक्त गरिन्।
यस्तै कार्यक्रमका विशेष अतिथि बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले बेलायतमा नेपाली समुदायको समायोजनमा खेलकुद प्रतियोगिताहरु महत्वपूर्ण हुने बताए।
2
आयोजक तमुधिं यूके अध्यक्ष ग्याम गुरुङ र रसमोर बरो काउन्सिलका मेयर सोफिया चौधरी, नेपाल फुटबल टिमका राष्ट्रिय कप्तान तथा वर्तमान प्रशिक्षक राजु शाक्य, गैरआवासीय नेपाली संघ बेलायतका अध्यक्ष मुछेत्र गुरुङ, एनआरएनए युरोप संयोजक कुल आचार्यले विजेतालाई संयुक्त रुपमा उपाधि प्रदान गरेका थिए। कार्यक्रममा ब्रिगेड व्याण्ड अफ गोर्खाजको गीत र खुकुरी नृत्यमार्फत दर्शकलाई मनोरञ्जन प्रदान गरेको थियो।
1