१४ बैशाख २०८१, शुक्रबार
Follow Us

योजनाबद्ध तरिकाले भरतपुरमा मतपत्र च्यातियो: अध्यक्ष ओली

नेपालब्रिटेन डट कम्
१६ जेष्ठ २०७४, मंगलवार १५:१५

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भरतपुर महानगरपालिकामा योजनाबद्ध तरिकाले मतपत्र च्यातिएको आरोप लगाउनुभएको छ । नेकपा (एमाले) काठमाडौँ जिल्ला कमिटीले आयोजना गरेको काठमाडौँबाट स्थानीय तहमा विजयी उम्मेदवारहरुको विजयी सभालाई आज भृकुटीमण्डपमा सम्वोद्धन गर्दै उहाँले सो आरोप लगाउनुभएको हो ।
अध्यक्ष ओलीले भन्नुभयो, “आफूले हार्ने भएपछि योजनाबद्ध रुपमा वाइसिएल लगाएर मतपत्र च्यातिएको हो, त्यहाँ फेरि निर्वाचन गराउन सम्भव छैन ।”
मुस्लिम धर्मावलम्बीको इदउल–फित्र पर्वका अवसरमा आगामी असार ९ गते हुने भनिएको स्थानीय तहको दोस्रो चरणको निर्वाचन एमालेलाई मान्य नहुने उल्लेख गर्दै उहाँले “विशेष पर्व, बर्खाको समय, मतदाता कसरी मतदानस्थलसम्म जाने ? पानीमा मतपत्रको सुरक्षा कसरी गर्ने ? भनी प्रश्न गर्नुभयो । ”
अध्यक्ष ओलीले एमालेलाई सरकारको हतारो नभएको र तीन वटै निकायको निर्वाचन सम्पन्न भएपछि मात्र यसवारे सोच्न सक्ने बताउँदै सरकारले प्रदान गर्ने तक्मा र विभूषणलाई पनि अपमान गर्ने कार्य गरेको आरोप लगाउनुभयो ।
नेपालको इतिहासमा पहिलो महिला प्रधानन्यायाधीश सुशीला कार्कीमाथि महाअभियोग लगाएर अवकाश लिनुपर्ने अवस्थाको सिर्जना गर्नु ज्यादै दुःखद कुरा हो, उहाँले भन्नुभयो । अध्यक्ष ओलीले काठमाडौँ महानगरपालिकामा राम्रो काम गर्ने समूह आएको र यसले पाँच वर्षसम्म भ्रष्टाचारको छिटासमेत नलाग्ने गरी सिङ्गो महानगरको विकास र समृद्धिका लागि काम गर्नुपर्नेमा जोड दिनुभयो ।
काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आफूले निर्वाचन जितेपछि ठूलो जिम्मेवारी महसुस भएको उल्लेख गर्दै आफूले मतदाताको विश्वास नगुमाउने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
बोल्ने बेला नभई काम गरेर देखाउने बेला भएको भन्दै उहाँले काठमाडौँलाई हेर्न मात्र हैन, बस्न लायक सुन्दर सहर बनाउने सङ्ल्कप गर्नुभयो । यसअघि बाजागाजासहित काठमाडौँको न्युरोडगेटबाट सुरु भएको विजय -याली रत्नपार्क हुँदै भृकुटीमण्डपमा आएर विजयसभामा परिणत भयो ।