६ चैत्र २०८०, मंगलवार
Follow Us

“महामहिम ज्यू अरुको पनि मर्यादा ख्याल गर्नुहोस्”

नेपालब्रिटेन डट कम्
१७ जेष्ठ २०७४, बुधबार १४:२२


पूर्ण गुरुङ ।

गणतन्त्र दिवसको दिन नेपाली दूतावास लण्डन परिसरभित्र दूतावासकै आयोजनामा हर्षोउल्लासका गणतन्त्र दिवस मनाईरहँदा आयोजक नेपाली राजदूतावासका महामहिम राजदूत डा. दुर्गा बहादुर सुवेदीले गोर्खा कपमा प्रमुख अतिथि नपाएकोमा रोष प्रकट गरे भन्ने समाचार अस्ति बेलुकीदेखि अनलाईन र सामाजिक संजालको केन्द्रबिन्दु बन्यो ।

केही अनलाईन मिडियाले भिडियो पनि राखे । उहाँले के चाँही भन्नु भएको रहेछ त भन्ने जिज्ञासा अरुमा जस्तै म मा पनि आयो र हेरें पनि । उहाँले प्रोटोकलको कुरालाई गम्भिरतापूर्वक उठान गर्नुभएको पाएँ । त्यो आफ्नो ठाउँमा जायज छ ।

प्रोटोकल नमिलेकै कारण गोर्खा कपमा एकलाख पचासहजार नेपालीहरुको शीर झुकेको कुरा पनि उहाँको बुझाई ठिकै होला । तर, मलाई नेपालीको शीर झुकेको होइन, सगरमाथाको उचाई जस्तै नेपालीको शीर उठेको महसुस भएको थियो । जहाँ अरुको भूमिमा पनि चन्द्रसूर्य अंकित नेपाली झण्डा बिहानै देखि फर्फराइरहेको थियो । नेपाली कला, संस्कृति र भेषभूषा झल्किने थुप्रै स्टलहरु सजिएको थियो ।

[democracy id=”6″]

नेपाल र नेपालीको परिचय दिने फुटबल टिमहरु प्रतिस्पर्धामा दिनभर जुटिरहेको थियो । जहाँ बेलायतका लागि नेपाली महामहिम राजदूत डा. सुवेदीज्यू पनि ढाका टोपीमा सजिएर नेपालीहरुको गौरव बढाईरहनु भएको थियो ।

जहाँ नेपाली गीतमा सबै नेपालीहरु झुमिरहेको थियो । जहाँ केही स्थानीय गैरनेपालीहरु पनि उपस्थित भएर गोर्खा कपको आर्कषणलाई अझ बढाइरहेको थियो । जहाँ १० हजार भन्दा बढी नेपालीहरु नेपाली भएकोमा गौरवका साथ छाती ठूलो बनाउदै खेल मैदानलाई नेपालमय बनाएको थियो । त्यस्तो ठाउँमा नेपालीको शीर झुकेको होइन, शीर माथि उठेको छ ।

साँचो अर्थमा भन्नुपर्दा गोर्खा कपले नेपालीहरुको प्रतिष्ठालाई अझ माथि उठाएको छ ।

एउटा जातिय संस्थाको सक्रियतामा आयोजना गरिएको सो कार्यक्रमबाट महामहिम डा. सुवेदीले गौरव गर्न सक्नु पथ्र्यो ।

आयोजक तमुधिं युकेले नेपाली दूतावासको कुनै सहयोग बिना स्थानीय काउन्सिलसंग समन्वय गरेर नेपालीहरुको प्रतिष्ठालाई उँचो बनाउन महत्वपूर्ण भूमिका खेलेको थियो ।

यती ठूलो कार्यक्रम आयोजना गरेकोमा आयोजकलाई हौसलाको सट्टा गणतन्त्र दिवस जस्तो ऐतिहासिक दिनमै महामहिमज्यूले रोष प्रकट गर्नुले कताकता मेरो जस्तै अरुको पनि मन अमिलो भएको हुनुपर्छ ।

विदेशी भूमिमा आफ्नो मानो खाएर नेपाली भाषा, कला र संस्कृतिको संरक्षण र सम्वद्र्धनमा जुट्दै आएका जुझारु नेपाल आमाका सन्तानहरु राजदूतको अभिव्यक्तिबाट म जस्तै अरु पनि पक्कै अन्यौलमा परेको हुनसक्छ । गल्तीनै भएको हो भने आगामी दिनमा सच्याइनु पर्दछ ।

महामहिमले पनि प्रोटोकललाई ख्याल राखेर मात्र कार्यक्रममा सहभागी हुनुपर्दछ । कतैबाट पनि हामी नेपालीहरुले शीर झुकिनु र झुकाउन हुदैन ।

हामी बीर गोर्खालीका सन्तान हौं । हामी कहिल्यै झुक्न हुदैन । प्रोटोकलको बिषयमा व्यापक छलफल हुन जरुरी छ । आयोजकले पनि नेपालीको शीर झुकाउन गोर्खा कपको पक्कै पनि आयोजना गरेको होइन ।

महामहिम राजदूतले पनि प्रोटोकल नेपाल र नेपालीको प्रतिष्ठासंग गाँसिएको कुरा अथ्र्याउन खोजेको हुनुपर्छ । जे होस्, कुनै पनि बाहनामा हामीबाट नेपालीको शीर झुक्ने काम गर्नु हुदैन ।
(गुरुङको फेसबुकबाट साभार)