२६ बैशाख २०८१, बुधबार
Follow Us

कावुलमा भएको आतंकवादी आक्रमणमा पाँच नेपाली घाइते

नेपालब्रिटेन डट कम्
१७ जेष्ठ २०७४, बुधबार १४:४८

काठमाडौं । कावुलमा भएको आतंकवादी आक्रमणमा परी पाँच नेपाली घाइते भएका छन् । इस्लामावादस्थित नेपाली दूतावासलाई उदृत गर्दै पाँच नेपाली घाईते भएको र उनिहरुसँग निरन्तर सम्पर्कमा रहेको जनाएको हो । घाइतेहरुको नाम प्राप्त भएको छैन । उनीहरु दूताबासमा सुरक्षा गार्डका रुपमा कार्यरत थिए ।
अफगानिस्तानमा नेपालीहरु सुरक्षा गार्ड लगायतका रोजगारमूलक कार्यमा सहभागी हुँदै आएका छन् । उनीहरु पटक पटक यस्तो जोखिममा पर्दै आएका छन् । अफगानिस्तानमा नेपाली दूताबास छैन । त्यहाँको गतिविधिलाई पाकिस्तानस्थित नेपाली दूताबासले हेर्दै आएकोमा करिब दुई महिना अघिदेखि मात्रै दिल्लीस्थित नेपाली दूताबासमा त्यहाँको जिम्मेवारी सारिएको छ ।
राजधानी काबुलस्थित जर्मन दूतावास नजिकै भएको आत्मघाती बम विस्फोटमा परी कम्तिमा ८० जनाको मृत्यु भएको छ । अफगान अधिकारीहरुका अनुसार जर्मनी लगायत विभिन्न देशका दूतावास र राष्ट्रपति भवन रहेको इलाकामा सो विस्फोट गराईएको हो । विस्फोटमा परी तीन सयभन्दा बढी घाइते भएको बताइएको छ । विस्फोटक पदार्थले भरिएको एउटा ठूलो गाडीलाई जम्बाक स्क्वायरमा विस्फोट गराइएको हो । घटनाको अहिलेसम्म कुनै समूहले जिम्मेवारी लिएको छैन् ।
यसैबीच, परराष्ट्र मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै काबुलमा भएको आतंकवादी आक्रमणको कडा शब्दमा निन्दा गरेको हो । यसैगरी विज्ञप्तीमा आक्रमणमा परी ज्यान गुमाउनेहरुका परिवारप्रति समवेदन व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ ।