काठमाडौं । राजपा नेपालसहितको संघीय गठबन्धनले आमहड्तालसहितको आन्दोलनका कार्यक्रम तत्कालको लागि स्थगन गरेको छ । राजपाका नेता मनिष सुमनले पूर्व निर्धारित आज, भोलि र पर्सीका लागि तय गरिएको आन्दोलनका कार्यक्रम फिर्ता लिइएको जानकारी गराए । उनले चुनावको मिति सारिएकाले आफूहरुले तय गरेको कार्यक्रममा उम्मेद्वारी दर्तालगायतका निर्वाचन कार्यक्रम पनि परेकाले सर्वसाधारणको असुविधानलाई ध्यानमा राखेर सो समयको आन्दोलनको कार्यक्रम फिर्ता लिइएको बताए ।
यद्यपी उनले आफूहरुको माग पूरा नभएसम्म आन्दोलन नरोकिने भन्दै निर्वाचन कार्यतालिकालाई प्रभावित पार्ने गरी अर्को आन्दोलनको कार्यक्रम चाँडै सार्वजनिक गरिने बताए । गठबन्धनको पूर्व निर्धारित कार्यक्रमअनुसार आज मसाल जुलुको कार्यक्रम तय थियो भने भोलि र पर्सि तराई मधेस-थरुहट र लिम्बुवानमा आमहड्ताल गर्ने घोषणा गरिएको थियो ।
सरकारले असार १४ गतेको लागि निर्वाचन सार्ने निर्णय गरेसँगै निर्वाचन आयोगले आजै नयाँ कार्यतालिका सार्वजनिक गरेको छ । जसअनुसार आयोगले असार २ गते उम्मेदवार मनोनयन दर्ताको कार्यक्रम राखेको छ ।