१२ बैशाख २०८१, बुधबार
Follow Us

छाता लिएर राजपा चुनावी मैदानमा

नेपालब्रिटेन डट कम्
१८ जेष्ठ २०७४, बिहीबार ०६:३३

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालले प्रमुख प्रतिपक्षी दल एमालेले स्थानीय तह निर्वाचनलगत्तै संविधान संशोधनमा प्रतिबद्धता जनाए १४ असारको निर्वाचनमा सहभागी हुने जनाएको छ । सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले संविधान संशोधन गर्ने सहमति जनाइसकेको भन्दै उसले निर्वाचनमा जानुअघि प्रतिपक्षी दल एमालेको प्रतिबद्धता खोजेको हो । ‘सत्तारूढ दल संविधान संशोधनमा प्रतिबद्ध छन् । अब एमालेले पनि प्रतिबद्धता जनाए संशोधनलाई थाती राख्दै निर्वाचनमा सहभागी हुन सकिन्छ,’ राजपा नेपालका एक नेताले भने ।
यद्यपि राजपाले निर्वाचनअघि जनसंख्याका आधारमा स्थानीय तहको संख्या निर्धारण गर्नुपर्ने, दल दर्ता, चुनाव चिह्न, आन्दोलनमा मृत्यु भएकालाई सहिद घोषणा गर्नुपर्ने, मुद्दा फिर्ता लिनुपर्ने लगायतका माग भने यथावत् नै रहने जनाएको छ ।
एमालेले भने राजपाबाट संविधान संशोधनमा त्यस्तो लिखित प्रतिबद्धताको प्रस्ताव नआएको जनाएको छ । एमाले नेता सुवास नेम्वाङले राजपासहित अन्य दलका बीचमा छलफल हुँदा निर्वाचनपछि संशोधनमा छलफल गर्न सकिने बताउँदै आएको जनाएका छन् । ‘विभिन्न दलका बीचमा छलफल हुँदा हामीले निर्वाचनपछि संशोधनको विषयमा छलफल गर्न सक्ने बताउँदै आएका छौं,’ नेम्वाङले भने, ‘लिखित नै प्रतिबद्धता गर्नुपर्ने प्रस्ताव अहिलेसम्म आएको छैन ।’
तर राजपा नेताहरू भने निर्वाचनअघि नै जनसंख्याका आधारमा स्थानीय तहको संख्या निर्धारण हुनुपर्ने अडानमा छ । निर्वाचनविरोधी नभए पनि माग पूरा नभएसम्म निर्वाचनमा सहभागी हुनुको औचित्य नहुने बताउँदै आएको राजपाले निर्वाचनलगत्तै संविधान संशोधन हुने प्रतिबद्धता ठूला दलबाट आए १४ असारको निर्वाचनमा सहभागी हुने जनाएको हो ।