१५ चैत्र २०८०, बिहीबार
Follow Us

बहुमतीय सरकारका लागि देउवालाई कसले रोक्ने ?

नेपालब्रिटेन डट कम्
१८ जेष्ठ २०७४, बिहीबार ०७:१४

काठमाडौ । हिजो बुधवार साँझसम्म राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरुलाई सहमतीय सरकार बनाउन दिएको समय सीमा सकियो । आज विहीबारबाट बहुमतीय सरकारको प्रधानमन्त्री छान्ने प्रक्रिया सुरु भएको छ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो नेतृत्वमा बहुमतीय सरकार गठनको तयारीमा जुटेका छन् । प्रतिपक्षी दल नेकपा एमालेले संसदीय दलका उपनेता सुवाश नेम्वाङ वा पार्टी उपाध्यक्ष वामदेव गौतमलाई अघि सार्ने तयारी भएको बुझिएको छ ।
संसदमा रहेका ५९३ सदस्यमध्ये २९७ भए बहुमतिय सरकार बनाउन पुग्छ यतिबेला नेपाली कांग्रेसको २०६, माओवादी केन्द्रको ८१, राप्रपाको ३७, नवगठित राष्ट्रिय जनता पार्टीको २५, संघीय समाजवादी फोरमको १५, नेपाल लोकतान्त्रिक फोरमको १६, नेकपा संयुक्त ३ र अन्य दलबाट १४ जनाले कांगे्रस सभापति देउवालाई प्रधानमन्त्री बन्न साथ दिने बताइएको छ । यो सबै जोड्दा ३ सय ८६ सिट हुन्छ ।
यदि संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीले देउवा सरकारको समर्थन गरेनन भने ३ सय ४५ मात्र पुग्ने देखिन्छ । प्रचण्ड सरकारले माग सम्बोधन नगरेकाले यस पटक मधेश केन्द्रित दलहरु न्यूट्रल बस्ने सम्भावना छ । प्रतिपक्षी एमालेको १ सय ८१, मालेको ५, नेमकिपा ४ र राष्ट्रिय जनमोर्चा ३, बहुजन पार्टी १, नेवा, १ गरी १ सय ९२ सिट छ ।
यदि एमालेले संसद चल्न दियो भने सोमवारसम्ममा सानो आकारको मन्त्रिपरिषद बनिसक्ने काँग्रेसका एक नेताले बताए । मन्त्रीहरुको चयन तथा कार्यक्रम निर्माणका लागि काँग्रेस र माओवादीबाट दुई दुई जना नेताहरु संलग्न चार सदस्यीय संयन्त्र बनिसकेको छ । नेपाली काँग्रेसबाट पूर्व महामन्त्री विमलेन्द्र निधि र रमेश लेखक तथा माओवादीबाट कृष्णबहादुर महरा र वर्षमान पुन छन् ।
– सुनयना राउत