आदरणीय मेयरज्यू !
पहिले कति बजेट कुन स्रोतबाट आएको छ निर्क्योल गर्नुहोस् । त्यो कर्मचारीदेखि शिक्षक र अन्यको तलबभत्तामा खर्च गरिसकेपछि कति बच्ने हो, हिसाब गर्नुहोस् ।
एउटा भरपर्दो ‘डेटाबेस’ तयार गर्नुहोस् । जनसंख्यादेखि, जन्मदर, शिक्षा, स्वास्थ्य, आर्थिक स्तर, उमेर, रोजगारीजस्ता सबै कुराको तथ्य व्यवस्थित गर्नुहोस् । कति धेरै योजनाहरू पूरा हुने चरणमा होलान्, कति सुरु भइसकेका होलान् । तिनलाई प्राथमिकतामा राख्नुहोस् । त्यसपछि नगरका सबैलाई या धेरैलाई प्रत्यक्ष अप्रत्यक्ष असर पार्ने योजनाहरूलाई पाइपलाइनमा राख्नुहोस् । कति बजेट पूर्वाधार निर्माण र कति बजेट अनुदान, राहत या वितरणमुखी योजनाका निम्ति छुट्याउने भन्ने नगरसभाबाट स्पस्ट योजना बनाउनुहोस् ।

कुर्सीमा बसेकै एक घण्टामा भत्ताको घोषणा गरेर असल मेयर बनिने होइन । नगरसभा पनि नबस्दै सस्तो लोकप्रियताका निम्ति वितरणमुखी निर्णय गर्नु दूरदृष्टि होइन । तपाईंको उद्देश्य र मन सफा होला, केही गरिहाल्ने हुटहुटी पनि होला । तर सत्तरी वर्ष भएकैले विनोद चौधरीका आमाहरुलाई भत्ता बढाउनुभन्दा एक महिना लगाएर अति विपन्नको पहिचान गरी भत्ता दिनु राम्रो हुन्छ । आगो लाग्दा निभाउने दमकलसम्म नभएका नगर छन्

तपाईंहरूसँग प्रसस्त समय छ राम्रो काम गर्नका निम्ति । ठूलो टिम छ । बस्नुहोस्, छलफल गर्नुहोस् । चुनिएर आएका सदस्यसम्म सबैको विचार, योजना र दृष्टि सुन्नुहोस् । नगरका समस्याहरू केके हुन्, सम्भावनाहरू केके हुन्, स्रोत वृद्धि गर्ने उपायहरू केके हुन् सबै विश्लेषण गरेर पो काम गर्ने हो । उत्तेजनामा आएर एक्लै वितरणमुखी कार्यक्रम घोषणा गर्ने होइन ।

भत्ता, स्वास्थ्योपचार, शिक्षा जस्ता कुराहरूमा देशभित्रैका नागरिकहरूमा विभेद हुनेगरी कार्यक्रम ल्याउनु राम्रो हुँदैन । प्रशासक बन्नुपर्ने व्यक्तिले शासकजस्तो एकल निर्णय गर्दै हिँड्नु पनि उचित हुँदैन ।

तपाईंहरूले अहिलेको नाममात्रको नगरलाई साँच्चिकै गर्व गर्नलायकको नगर बनाउनुहुनेछ भन्ने शुभकामना !