६ बैशाख २०८१, बिहीबार
Follow Us

‘तमुधिं यूकेलाई फकाउन दूतावासमा रात्रिभोज’

नेपालब्रिटेन डट कम्
१८ जेष्ठ २०७४, बिहीबार १२:३७

लन्डन । गत साता सम्पन्न गोर्खा कप फुटबल प्रतियोगितामा प्रमुख अतिथि नबनाएपछि असन्तुष्ट रहेका बेलायतका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीले तमुधिं यूकेका पदाधिकारीलाई दूतावासमा बोलाएर रात्रिभोजसहित छलफल गरेका छन् ।

तुमधिं यूकेले आयोजना गरेको गोर्खा कपमा नेपाली राजदूतलाई प्रमुख अतिथि नबनाएर नेपाली शिर झुकेको अभिव्यक्ति दिएपछि राजदूत सुवेदी विवादमा तानिएका थिए । उक्त अभिव्यक्ति सामाजिक सञ्जाल फेसबुक र टुइटरमासमेत आलोचित भइरहेको छ ।

बुधवार साँझ आयोजना गरिएको रात्रिभोजमा राजदूत डा. सुवेदीलगायत नेपाली नियोगतर्फबाट सम्पूर्ण कर्मचारी उपस्थित थिए । दूतावासमा भएको रात्रिभोजमा सहभागी तमुधी यूकेका अध्यक्ष ज्ञाम गुरुङले भने, ‘हामीले हिजो साँझ दूताबासमा बसेर गोर्खा कपको काम गर्ने क्रममा भएको मिस अन्डरस्ट्निङबारे छलफल गरेर क्लियर भयौं ।’ गत सोमबार गणतन्त्र दिवसको अवसरमा तमुधिं यूकेमाथि आक्रमक बनेका राजदूत डा. सुवेदी छलफलमा नरम रुपमा प्रस्तुत भएका थिए ।

छलफलमा राजदूत डा. सुवेदीले बेलायतस्थित सबै संघसंस्थासँग मिलेर काम गर्न आफु इच्छुक रहेको राजदूत डा. सुवेदीको भनाइलाई उदृत गर्दै अध्यक्ष गुरुङले भने, ‘विगतभन्दा आगामी दिनलाई हेरेर अगाडि बढ्नु बुद्धिमानी हुनेछ ।’ अध्यक्ष गुरुङलगायतका पदाधिकारीले गोर्खा कप फुटबलको आयोजना गर्दा आफ्नै खालको परम्परा रहेको तर्फ राजदूत डा. सुवेदीको ध्यानाकर्ष गराएका थिए ।

हरेक बर्ष आयोजना गरिने गोर्खा कपमा स्थानीय मेयर र नेपाली मेलामा नेपाली राजदूतलाई प्रमुख अतिथि बनाउने तमुधि यूकेको परम्परा रहेको जानकारी राजदूत डा. सुवेदीलाई गराइएको थियो ।

छलफलमा नेपाली दूतावासका प्रवक्ता शरदराज आरणले दूतावास र तमुधिंबीच ‘मिस कम्युनिकेशन’ हुदा ‘कम्फ्युजन’ सिर्जना भएको भन्दै आगामी दिनमा दूतावास र तमुधिंबीच सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाएका थिए ।

छलफलमा आगामी अगष्टमा तमुधिं यूकेद्वारा आयोजना हुने नेपाली मेलाको प्रमुख अतिथि नेपाली राजदूत दुर्गाबहादुर सुवेदी हुने जनाकारी तमुधिं यूकेका पदाधिकारीहरुले दिएका थिए ।

राजदूत डा. सुवेदीले आफूले दूतावासको नेतृत्व समालेपछि पहिलो पटक नेपाली मेलामा सहभागी हुन निकै उत्साहित रहेको बताएका थिए । उनले नेपाली मेलालाई दूतावासको तर्फवाट सक्दो सहयोग गर्ने वचन पनि दिएका थिए ।

राति ११ बजेसम्म चलेको छलफलमा दुवै पक्षले आ–आफ्नो तर्फबाट कमिकमजोरी रहेको स्वीकार गरेको स्रोतले बतायो । बैठकमा तमुधिं यूकेका उपाध्यक्ष नन्दजंग गुरुङ, हितकाजी गुरुङ, महासचिव कृष्ण गुरुङ, खेलकुद सचिव पिताम्बर गुरुङ, एनआरएन यूकेका पूर्वअध्यक्षद्वय डमर घले, सूर्य गुरुङ, एनआरएन यूकेका अध्यक्ष मुछेत्र गुरुङलगायतको उपस्थिति थियो ।