१५ चैत्र २०८०, बिहीबार
Follow Us

कांग्रेस र माओवादीबाट को-को बन्दैछन् मन्त्री ?

नेपालब्रिटेन डट कम्
१९ जेष्ठ २०७४, शुक्रबार ०६:३५

काठमाडौं । बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री चयनका लागि राजनीतिक दलहरूबीच गृहकार्य सुरु भएको छ । नेकपा माओवादी केन्द्रले कांग्रेसलाई सरकारको नेतृत्वमा समर्थन गरिसकेकाले दुई दलले भने मन्त्रालय भागबन्डा समेत सुरु गरेका छन् । दुई दलबिच प्रधानमन्त्रीसहित अर्थ मन्त्रालय कांग्रेसले लिने र उपप्रधानसहित गृह मन्त्रालय माओवादी केन्द्रले लिने गरी समझदारी समेत भएको छ ।
अर्थ र गृह मन्त्रालय हेरफेर भए पनि अधिकांश मन्त्रालय अहिलेकै अवस्थामा रहने भएका छन् । दुई दलले बाँकी मन्त्रालय आपसी समझदारीका आधारमा लिने सहमति गरेका छन् । अहिले माओवादीको भागमा रहेको उर्जा मन्त्रालयमा माओवादीले नै चासो देखाएको छ भने कांग्रेसको भागमा रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा कांग्रेसले चासो देखाएको छ ।
एक नेताका अनुसार उर्जा माओवादीले नै राख्ने र भौतिक मन्त्रालय कांग्रेस राख्ने कि भन्नेमा दुई दल सकरात्मक छन् । समझदारी जुटेमा स्वास्थ्य र शिक्षा पनि नफेरिन सक्ने सम्भावना रहेको बताइएको छ । दुई दलको बिहीबारको छलफलमा गृह र अर्थ मन्त्रालय हेरफेर गर्ने र बाँकी मन्त्रालय सहमतिको आधारमा बाँडफाँड गर्ने निर्णय भएको बैठकमा सहभागी एक नेताले बताए ।
कांग्रेस केन्द्रीय सदस्य रमेश रिजालले सरकार गठनका विषयमा छलफल सुरु भएको भन्दै सहमतिको आधारमा मन्त्रालय बाँडफाँड हुने बताए । अर्थ र गृह कुन दलले लिने भने टुंगो लागेसँगै दलभित्रै आन्तरिक रुपमा दौडधुप समेत तिब्र बनेको छ । प्रधानमन्त्री पछि अर्थ र गृह महत्वपूर्ण मन्त्रालय मानिने भएकाले कांग्रेसभित्र अर्थ र माओवादीभित्र गृह मन्त्रालयका लागि दौडधुप सुरु भएको हो ।
केपी ओली नेतृत्वको सरकारमा मन्त्री रहेका सामान्य प्रशासनमन्त्री रेखा शर्मा, शिक्षामन्त्री गिरिराजमणी पोखरेल, टोपबहादुर रायमाझी यो पटक मन्त्री हुनेको सुचिमा छन्। त्यस्तै, वर्तमान सरकारबाट जनार्दन शर्मा, र महराले निरन्तरता पाउने सम्भावना पनि उत्तिकै रहेको छ । राप्रपालाई सरकारमा सहभागी गराउन मन्त्री पद त्याग गरेका हितराज पाण्डे पनि मन्त्रीका रुपमा दोहोरिनेमा पहिलो सुचिमा रहेको स्रोत बताउँछ ।
माओवादीभित्र कसलाई कुन मन्त्रालयमा पठाउने भन्ने विषयमा औपचारिक छलफल भने भएको छैन । यसअघि मन्त्री चयनमा विवाद भएपछि ओली सरकारको नेतृत्वमा सहभागी कुनै पनि मन्त्रीलाई नदोहोर्याउने मापदण्ड माओवादीले तय गरेको थियो । पार्टी केन्द्रीय कार्यालय सदस्य मणी थापाले मन्त्री चयनका विषयमा औपचारिक छलफल नभएको र अब बैठक बसेर मापदण्ड बनाएर अघि बढिने बताए ।
‘को के भन्ने ठ्याक्कै कुरा चलेको छैन, बैठक बसेर छलफल हुन्छ, निश्चित मापदण्ड बनाएर मन्त्री छनोट हुनेछ,’ उनले भने ।
यता, प्रधानमन्त्रीमा लगभग पक्कापक्की जस्तै बनेका कांग्रेस सभापति शेरबहादुर देउवापछि कांग्रेसमा को हुने भन्नेमा पार्टीमा आन्तरिक रुपमा छलफल तिब्र भएको छ । कांग्रेसभित्र अर्थमन्त्री कसले पाउने भन्नेमा दौडधुप सुरु भइसकेको छ । डा. रामशरण महत, महेश आचार्य, ज्ञानेन्द्रबहादुर कार्कीलगायतले अर्थका लागि लविङ सुरु गरिसकेका छन् ।
कांग्रेसमा अहिले मन्त्री भइसकेकाहरु पुनः दोहोरिने सम्भावना छैन । अधिकांश मन्त्रीहरु नयाँ आउने छन् । अहिले मन्त्री भएकाहरुलाई पार्टी सम्हाल्ने जिम्मेवारी दिइने छ भने सभापति देउवाले आफ्ना केही विश्वास पात्रलाई लिने, त्यसपछि महामन्त्री कोइराला र वरिष्ठ नेता रामचन्द्र पौडेलको सिफारिसमा आएकालाई मन्त्री बनाउने सम्भावना छ ।
सभापति देउवाले ७ नम्बर प्रदेशबाट बीरबहादुर बलायर र थारु समुदायबाट एकजनालाई राज्यमन्त्री बनाउने सम्भावना छ ६ नम्बर प्रदेशका पूर्णबहादुर खड्काले मन्त्री नखाने घोषणा गरेका छन् भने जीवनबहादुर शाहीलाई पुनः बोलाइने बताइएको छ । ४ र ५ नम्बर प्रदेशबाट वरिष्ठ नेताका पौडेल र खुमबहादुर खड्काले सिफारिस गरेका व्यक्ति मन्त्री हुनेछन् ।
३ नम्बरबाट सभापति देउवाका आर्थिक सहयोगी बहादुरसिंह लामा मन्त्री बन्ने लागभग निश्चितजस्तै छ । त्यसैगरी लिटिल एन्जल्स स्कुलका सञ्चालक उमेश श्रेष्ठ तथा पार्टी सभापति बन्दा आर्थिक सहयोग गर्नेहरुलाई सभापति देउवाले पुरस्कृत गर्ने सम्भावना छ ।
सहमतिका लागि दिएको एक साताको समयमा सहमतिय सरकार नबनेपछि राष्ट्रपति भण्डारीले बहमुतीय प्रक्रियाबाट सरकार गठनको प्रक्रिया अघि बढाउन बिहीबार मात्र दलहरुलाई आग्रह गरेकी थिइन् । राष्ट्रपतिको आग्रहसँगै दलहरु सरकार गठन र मन्त्रालय बाँडफाँडको तयारीका लागि छलफलमा जुटिसकेका छन् ।
कांग्रेसको नेतृत्वमा नेकपा माओवादी केन्द्रसहित फोरम लोकतान्त्रिक, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल तथा साना दलहरु मिलेर अब नयाँ सरकार बन्ने देखिएको छ । कांग्रेसले विभिन्न दलहरुसँग छलफल समेत अगाडि बढाएको छ ।