१५ चैत्र २०८०, बिहीबार
Follow Us

ग्वालीमै बित्छ दिन दृष्टिविहिन चिरन्जीवीको !

नेपालब्रिटेन डट कम्
१९ जेष्ठ २०७४, शुक्रबार ०६:४०

जन्मँदै दुवै आँखा गुमाउनुभएका मोरङको पथरी शनिश्चरेका २२ वर्षीय चिरञ्जीवी अधिकारीले जन्मिएको एक वर्ष नपुग्दै आमा गुमाउनु प¥यो । उहाँ एकवर्ष नपुग्दै आमाको मिर्गौला फेल भएर मृत्यु भयो । हालसम्म उहाँले तीनवटी आमा पाउनुभयो । २०५२ मङ्सिर १६ गते मोरङको पथरी शनिश्चरेमा जन्मनुभएका चिरञ्जीवी एक ठाउँबाट अर्को ठाँउ सर्न सक्नुहुन्न ।

मोरङको पथरी शनिश्चरे नगरपालिका–९ सिंहवाहिनी स्कुल छेउका बासिन्दा मदनबहादुर अधिकारीका माइला छोरा उहाँ २२ वर्ष पुग्नुभयो तर कतै हिँड्डुल गर्न सक्नुहुन्न । सानामा भित्ता समाएर अलिअलि बामे त सर्नुहुन्थ्यो । तर हाल उहाँ दुई घँुडाको बीचमा टाउको निहुराएर झोक्रिएर बस्नुहुन्छ । आमाको मृत्युपछाडि बाबु काममा बाहिर हिँड्नुपर्ने भएकाले चिरञ्जीवी मूलघरमा हजुरबा–आमासँग बस्नुभयो ।

उहाँ बिहान–बेलुका खानाबाहेक अरू केही खानुहुन्न । २२ वर्षीय चिरञ्जीवीको तौल १२ किलो छ । न आँखा देख्नुहुन्छ, न कान नै मज्जाले सुन्नुहुन्छ । हात चल्छ, खुट्टा चल्दैन । उहाँ खाना ढिलो भयो भने चिच्याउने र मन खुसी भएको समयमा गीत गाउने गर्नुहुन्छ ।

उहाँ आवाज र स्पर्शले आफन्तहरुलाई चिनिहाल्नुहुन्छ । आमाको मृत्युपछि माइली आमाले स्याहारसुसार गरेपनि उहाँ अर्कैसँग बिवाह गरेर गएपछि हाल कान्छी आमाले घरमा स्याहार गर्दै हुनुहुन्छ । बा, आमा, दाजु, भाइ भएपनि सबै आ–आफ्नो काममा जाने भएकाले चिरञ्जीवीको स्वास्थ्य दिनहँु झन् जटिल हुँदै गएको छ ।

उहाँका एक दाजु र दुई भाइ हुनुहुन्छ । आमाबुबा सामान्य खेती किसान भएकाले हातमुख जोड्नै गाह्रो भएको बाबु मदनको भनाइ छ । चिरञ्जीवीलाई अहिले घरपरिवारले ग्वालीमा खाट राखी हेरचाह गर्दै आएका छन ।

“घरभित्र र सिमेन्टीमा राख्दा चिच्याउने, कराउने र दिसापिसाब गरेको थाहा नपाउने भएकाले उहाँलाई ग्वालीमा खाटमा राखिएको बुबा मदनको भनाइ छ । उहाँलाई बिहानजस्तो छोड्यो बेलुकी आउँदा पनि त्यस्तै रहेको भेटिनुहुन्छ । बसेकै ठाउँमा दिसापिसाब गर्ने भएकाले सरसफाइमा कमी हँुदा हैजा उठ्ने समस्या हुन्छ । बाबु मदन भन्नुहुन्छ, “सरकारले मासिक दुई हजार त दिएको छ, तर चिरञ्जीवीका लागि लुगा किन्नसमेत पुग्दैन ।”

सरकारले चिरञ्जीवीका लागि उचित व्यवस्था मिलाई दिनुपर्ने माग उहाँको छ । बाबुले विभिन्न सङ्घसंस्थासँग हारगुहार पनि नमागेको हैन । सङ्घसंस्थाले आएर उल्टै हप्काएर गएको गुनासो छ ।

उहाँ अहिले सबैबाट हार खाएर छोराको मायाले स्याहारसुसारमा आफैँ लाग्नुभएको छ । उहाँले सरकारले अपाङ्गता भएकाको हकमा केही भए र उद्वार गर्ने केही उपाय भए सहयोग गरिदिन अनुरोध पनि गर्नुभयो ।
– गोपालप्रसाद पोखरेल