११ बैशाख २०८१, मंगलवार
Follow Us

मतपत्र च्यातिएको घटनामा निर्वाचन पर्यवेक्षण टोलीको यस्तो छ स्थलगत अध्ययन

नेपालब्रिटेन डट कम्
१९ जेष्ठ २०७४, शुक्रबार ०७:०५

काठमाडौं ।  पहिलो चरणको स्थानीय तह निर्वाचनको चितवन जिल्लाको भरतपुर महानगरपालिको मतगणनाका क्रममा केहि व्यक्तिहरुले मतपत्र च्यात्ने जस्ता आपराधिक कार्य गरेको सन्दर्भमा सत्य—तथ्य पत्ता लगाउने उद्देश्यले राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक), आम निर्वाचन पर्यवेक्षण समिति   (जियोक) तथा शान्ति, न्याय र लोकतन्त्रका लागि समावेशी महिला सञ्जाल(संकल्प) का प्रतिनिधिहरु सम्मिलित एक उच्च स्तरीय टोलीले त्यस क्षेत्रको यही जेष्ठ १६ र १७ गते स्थलगत भ्रमण सम्पन्न गरेको छ ।

पर्यवेक्षण समूहको संयुक्त टोलीले मुख्य निर्वाचन अधिकृत, प्रहरी उपरीक्षक, प्रमुख जिल्ला अधिकारी, नेकपा (एमाले), नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) का प्रतिनिधिहरु, केही सर्वसाधरण तथा मतपत्र च्यातेको अभियोगमा थुनामा रहेका नेकपा (माओवादी केन्द्र) का दुई जना ब्यक्तिहरुलाइ भेटी घटनाको यथार्थता बुझ्ने कार्य सम्पन्न गरेको छ । पर्यवेक्षण टोलीले मतगणनास्थल (कभर्ड हल) क्षेत्रको अवलोकन समेत सम्पन्न गरेको छ । स्थलगत अध्ययनको क्रममा संयुक्त टोलीले निम्न तथ्य उजागर गरेको छः

१. मतगणनाको लगभग अन्तिम चरणमा पुग्ने क्रममा गणनास्थलमा खटिएका दलका प्रतिनिधिहरुबिच मतगणनाको प्रक्रिया तथा मत अभिलेखका विषयमा केहि दिन अघिदेखि विवाद, तनाव र असहज वातावरण बढेको ।
२. तनाव बढ्दै जाने क्रममा जेठ १४ गते राती करिव ११ः४५ बजेतिर दलका केही आधिकारीक प्रतिनिधीहरु निर्धारित स्थान छोडेर अचानक मतगणना भइरहेको ठाँउमा अनाधिकृत ढंगले हठात् प्रवेश गरी मतपत्र च्यात्न सुरु गर्दा अन्य दलका प्रतिनिधिहरु समेत सोही स्थानमा प्रवेश गरी मतपत्र खोसाखोस गर्ने क्रममा थाक लगाईएका  मतपत्रहरु कुल्चिन पुगी कतिपय मतपत्रहरु विग्रिएको ।
३. कतिपय संचार माध्यममा सार्वजनिक गरिए अनुसार मतगणना स्थल ‘क्याप्चर’ गरिएको भन्ने अवस्था नभएको, अप्रत्यासित एवं क्षणिकरुपमा मतपत्र च्यात्ने र खोस्ने बाहेक अन्य प्रकारका हिंसात्मक गतिविधिहरु नभएको तथा हाल मतगणना स्थल र मतपत्रहरु निर्वाचन अधिकृतको पूर्ण नियन्त्रणमा रहेको ।
४. मतपत्र च्यातेको आरोपमा नेकपा (माओवादी केन्द्र) का दुईजना प्रतिनिधीलाई प्रहरीले रङ्गेहात नियन्त्रणमा लिई हिरासतमा राखेको । सोही घटनाको सन्दर्भमा बाहिर सडकमा प्रहरीको काममा अवरोध गर्ने अर्को एक व्यक्तिलाई समेत प्रहरीले नियन्त्रणमा लिइ भोलीपल्ट छाडेको ।
५. मतगणना स्थलमा कोही पनि अनाधिकृत व्यक्तिहरु प्रवेश नगरेको, प्रवेश अनुमतिको निम्ति निर्वाचन अधिकृत तथा सूरक्षा निकायको संयोजनमा यथोचित प्रवन्ध गरेको एवं तनावमय परिस्थितिलाई मध्यनजर गरी मतगणना स्थलमा सुरक्षा बल थप गरिएको ।
६. मुख्य निर्वाचन अधिकृतद्धारा घटनापश्चात कति मतपत्रहरु कुन अवस्थामा च्यातिएका वा नष्ट भएका छन् भन्ने लेखाजोखा गर्न मुचुल्का खडा गर्ने आग्रह गर्दा केही राजनीतिक दलहरुले सहयोग नगरेको हुँदा यथास्थितिमै मतपत्र शिल गरेर छोडिएको ।
७. मुख्य निर्वाचन अधिकृतद्वारा तनावमय परिस्थितिमा स्थानीय पहलमा मात्रै मतगणना आरम्भ गर्न नसकिने तथा पुनः मतदान गर्ने अवस्था समेत नरहेको भन्ने जानकारी गराईएको ।

उपर्युक्त सन्दर्भमा यस अत्यन्त विषम एवं जटिल परिस्थितिमा निर्वाचनको स्वच्छता, स्वतन्त्रत्रा, निष्पक्षता एवं विश्वसनियता कायम गर्न निर्वाचन आयोगले यथाशिघ्र निम्न कार्य गर्नु पर्ने देखिन्छ–

१. मतपत्र च्यात्ने वा विगार्ने क्रममा केही छरपष्ट मतपत्रहरुको स्थितिको यथार्थता अभिलेख गर्न निर्वाचन आयोगको पहलमा मुचुल्का प्रक्रिया आरम्भ गर्नु पर्ने ।
२. मतपत्रमार्फत अभिव्यक्त जनताको अमूल्य अभिमतलाई रक्षा र सम्मान गर्नुपर्ने दायित्वलाई मध्येनजर गरी निर्वाचन आयोगले च्यातिएका वा विग्रिएका मतपत्रहरुलाई निविदा मतपत्रको रुपमा अलग्गै राखी बाँकी मतगणना सुचारु गर्नुपर्ने तथा निविदा मतपत्रका हकमा आवश्यक कानुनी प्रक्रिया अवलम्वन गर्नु पर्ने ।
३. यस सन्दर्भमा परिस्थितिको संवेदनशिलता र गाम्भिर्यतालाई मध्येनजर गरी तथा निर्वाचन आयोगको गरिमालाई अक्षुण्य राख्न निर्वाचन आयुक्तको नेतृत्वमा निर्वाचन विज्ञ सम्मिलित एक अधिकार सम्पन्न उच्चस्तरीय स्वतन्त्र समिति गठन गरी घटनाको स्थलगत अनुसन्धान मार्फत उचित निर्णय लिनुपर्ने ।
४. भरतपुर महानगरपालिकाको मतगणना स्थलमा भएको जस्तो अप्रिय घटना भविष्यमा दोहोरिन नदिन पूर्वतयारी, सजकता र सतर्कता अपनाउन आवश्यक कानुनी सुधार गरी प्रभावकारी रणनीति अपनाउनु पर्ने ।

सत्य–तथ्य अनुसन्धान टोलीका सदस्यहरुः
१. चरण प्रसाईं, उपाध्यक्ष, नियोक
२. डा. गोपाल कृष्ण सिवाकोटी, महासचिव, नियोक
३. प्रा. चिरञ्जीवि खनाल, प्रतिनिधि, जियोक
४. प्रा. हस्त गुरुङ्ग, प्रतिनिधि, जियोक
५. चन्दा राई श्रेष्ठ, कार्यकारी निर्देशक, संकल्प