७ बैशाख २०८१, शुक्रबार
Follow Us

भरतपुर महानगर वडा नं– १९ मा पुनः मतदान

नेपालब्रिटेन डट कम्
२० जेष्ठ २०७४, शनिबार ११:५२

काठमाडौं । निर्वाचन आयोगले भरतपुर महानगरपालिकाको वडा नं– १९ मा पुनः मतदान गराउने निर्णय गरेको छ । आयोगको आज बसेको बैठकले सो वडाको सम्पूर्ण मत अवैध घोषित गरी पुनः मतदान गराउने निर्णय गरेको हो ।
आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले नयाँ निर्वाचनको मिति तोकेर मतदान गर्ने व्यवस्था गराउन मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिइएको जानकारी दिनुभयो ।
‘विभिन्न प्रतिवेदनको अध्ययन गर्दा मतगणनास्थल अनधिकृत कब्जा भएको भन्ने पुष्टि हुन आएको हुँदा यसबाट असर परेको चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नं– १९ को मतदान केन्द्रको सम्पूर्ण मतपत्र अवैध घोषित गरी “पुनः मतदान गर्ने’’ आयोगको निर्णयमा उल्लेख छ ।
भरतपुर महानगरपालिका वडा नं –१९ मा ९० मत च्यातिएको फेला परेको थियो । आयोगको टोली र सहमहान्याधिवक्ता नेतृत्वको टोलीले दिएको प्रतिवेदनका आधारमा पुनः मतदान गराउने निर्णय गरेको प्रवक्ता शर्माले बताउनुभयो ।
यस्तै आयोगले ‘मतदान रद्द गरिएको मतदान केन्द्रको मतदान हुने स्थान, मिति र समय तोकी पुनः मतदान गराउने व्यवस्था मिलाउन मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिने’ निर्णय गरेको छ ।