१४ बैशाख २०८१, शुक्रबार
Follow Us

आस्था जोशी बनिन् मिसेस नेपाल यूके २०१७

नेपालब्रिटेन डट कम्
२० जेष्ठ २०७४, शनिबार १३:५८

नेपालमा २२ औं मिस नेपाल भइरहँदा बेलायतमा पहिलोपटक आयोजना गरिएको ‘मिसेस नेपाल यूके २०१७’ प्रतियोगितामा आस्था जोशी बटाजुले ‘मिसेस नेपाल यूके २०१७’ उपाधि जितेकी छन् । शुक्रबार साँझ लन्डन हयारोस्थित हयारो बरो फुटबल क्लबमा सम्पन्न प्रतियोगितामा रनर अप पुनम गुरुङ र सेकेन्ड रनरअप भइन् अमृता गिरी गजुरेल ।

१७ प्रतियोगी सहभागी उक्त प्रतियोगितामा शर्मिला क्षेत्रीले पब्लिक च्वाइसको उपाधि जितिन् । उक्त अवसरमा सहभागीहरु परिचय, कल्चरल, क्याजुएल र गावन राउण्डमा आकर्षक रुपमा उत्रिएका थिए । प्रतियोगिताको निर्णायकमा रजनी प्रधान, रजनी सुनुवार, सब्रिना श्रेष्ठ, सबी लामा मोक्तान, शर्मिला बर्देवा र बिना राई थिए ।

बिवाहित महिलाहरुको प्रतिभा उजागर र उनीहरु घरमा मात्र होइन, समाजमा समेत आफ्नो क्षमता प्रदर्शन गर्न सक्छन् भन्ने दर्शाउन कार्यक्रम गरिएको आयोजक लन्डन फेशन हाउसकी निर्देशक मनिषा डंगोल श्रेष्ठले जनाइन् ।

लन्डनस्थित नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा एनआरएनए यूके अध्यक्ष मुछेत्र गुरुङ, उपाध्यक्ष शान्ति थापा कुंवर, तमु समाज बेलायतका संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ, यती पूर्व अध्यक्ष उमेशराज मोक्तान, गायक योगेश्वर अमात्य लगायत सहभागी थिए ।

उक्त प्रतियोगितामा मेकअप बिना राई, हेयर स्टाइल शान्ति राई र कोरियोग्राफी सिम्मी पुनले गरेका थिए । कार्यक्रम संयोजक थिइन् गंगा साम्पाङ र साउण्ड सिस्टम चांद लामाको थियो ।